ताप्लेजुङमा प्रधानमन्त्री कार्की, पाथीभरामा पूजा गरेर मागिन् शान्तिपूर्ण निर्वाचनको आशिष्
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
733
Shares
ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्था बुझ्न आज ताप्लेजुङ आइपुगेकी छन्। जिल्लाका समग्र गतिविधिबारे जानकारी लिन यहाँ आइपुगेकी उनले आजै बिहान प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन र पूजाअर्चना गरेकी छन्।
पाथीभराको पूजापछि सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उनले फागुन महिनालाई निर्वाचनको महिनाका रूपमा उल्लेख गरेकी छन्। उनले पाथीभराबाटै देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न होस् भन्ने कामना गरेकी छन्।
ताप्लेजुङ भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूका साथै मुख्य निर्वाचन अधिकृत र निर्वाचनमा खटिएका अन्य अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
ती भेटहरूमा उनले मतदान केन्द्रको सुरक्षा, कर्मचारी व्यवस्थापन र मतदाताहरूको सुरक्षा सुनिश्चितताका बारेमा विस्तृत ब्रिफिङ लिनेछिन्। निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उनले स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिने अपेक्षा गरिएको छ।