निर्वाचनको तयारी अन्तिम चरणमा: कर्णालीका १० जिल्लामा मतपत्र पठाइयो, ५८ जिल्लाको छपाइ सकियो
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
766
Shares
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र पठाउन सुरु गरेको छ। मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका १२ निर्वाचन क्षेत्रमा ढुवानी प्रक्रिया अघि बढाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्।
आयोगका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि आवश्यक कुल एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भइसकेको छ।
अहिलेसम्म कर्णाली र सुदूरपश्चिमका सबैजसो जिल्लाका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाको मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ। यसरी छापिएका मतपत्रमध्ये हालसम्म १४ हजार ३४१ बाकस प्याकिङ भइसकेको र दैनिक करिब एक हजार बाकस प्याकिङ गर्ने काम भइरहेको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छाप्ने काम भइरहेको आयोगले जनाएको छ। मतदाता शिक्षाका लागि करिब ११ लाख नमुना मतपत्र यसअघि नै जिल्लाहरूमा पठाइसकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र माघ १३ गते नै छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेमा माघ १६ गतेदेखि सुरु भएको छपाइ कार्यले निकै तीव्रता पाएको छ।
आयोगले फागुन १२ गतेभित्र देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने लक्ष्यका साथ सुरक्षा घेराभित्र ढुवानी र व्यवस्थापनको कामलाई अघि बढाएको छ।