आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कारबाही गर्न निर्वाचन आयोगको पत्र, गोरखापत्रसँग स्पष्टीकरण माग
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
543
Shares
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे अध्ययन तथा अनुसन्धान गरी कानुनी कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई लेखी पठाएको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष तथा सम्पादक रबिनप्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाईंले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट उम्मेदवारका प्रचारप्रसार सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेपछि आयोगले कारबाहीका लागि सिफारिस गरेको हो।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार उनीहरूले निर्वाचन आचारसंहिताको दफा ७ को खण्ड (क) र (झ) प्रतिकूल हुने गरी कार्य गरेको उजुरीमा उल्लेख छ।
यसैबीच, गोरखापत्र संस्थानले मधेश र बागमती प्रदेशका संयोजक हटाएको विषयमा परेको उजुरीका आधारमा पनि आयोगले चासो देखाएको छ।
आयोगले संस्थानलाई यस विषयमा दुई दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरिसकेको जोशीले जानकारी दिएका छन्।
निर्वाचनको समयमा सञ्चारकर्मी र सरकारी सञ्चार गृहहरूले अपनाउनुपर्ने तटस्थता र आचारसंहिताको पालनामा आयोगले कडाइ गर्दै आएको छ।