arrow

नेपाल–जापान ७० वर्षे मित्रता: जापानी दूतावासमा उपराष्ट्रपतिको उपस्थितिमा विशेष उत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
japan-nepals.jpg

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारुहितोको ६६औँ शुभजन्मोत्सव तथा नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानी दूतावासले आयोजना गरेको स्वागत समारोहमा सरिक भएका छन्। समारोहमा नेपालका लागि जापानी राजदूत मेइदा तोरुले आमन्त्रित पाहुनालाई स्वागत गर्दै दुई देशबीचको न्यानो र मित्रवत् सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे। जापानी सम्राटको ६६औँ जन्मोत्सव फेब्रुअरी २३ गते भव्य रूपमा मनाइँदै छ।

राजदूत तोरुले यो वर्षलाई विशेष महत्त्वको वर्षका रूपमा व्याख्या गर्दै नेपाल–जापान दौत्य सम्बन्धको ७० वर्षका उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको चारदिने जापान भ्रमणको स्मरण गरे। जापानका सम्राट, सम्राज्ञी र प्रधानमन्त्रीसँग राष्ट्रपतिको भेटवार्ताले दुई देशबीचको सम्बन्ध विस्तारमा ठुलो योगदान पुगेको उनले बताए। यस्ता उच्चस्तरीय भ्रमणले सन् १८९९ देखि सुरु भएको जनस्तरको सम्बन्धलाई समेत सुदृढ बनाउँदै लगेको राजदूतको भनाइ थियो। उनले सन् १९६० मा जापानी चिकित्सकले तानसेनमा अस्पताल खोलेको र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गरेको जनस्तरको पुरानो योगदानलाई पनि उल्लेख गरे।

यस्तै, जापानी प्राध्यापकहरूले नेपाली विद्यार्थीलाई पढाउने र अनुसन्धानमा लगाउने गरेको तथा पर्वतारोहीहरूले हिमाली क्षेत्रमा पुर्याएको सहयोगको राजदूतले प्रशंसा गरे। हाल जापानमा करिब दुई लाख ७० हजार नेपाली अध्ययन, अध्यापन र विभिन्न पेसामा संलग्न छन्। जापान नेपालको ठुलो विकास साझेदार मात्र नभई जनस्तरमा पनि गहिरो मित्रता र सद्भाव भएको मुलुक हो। पछिल्लो समय दुई देशबीच व्यापार, लगानी, स्वास्थ्य, कृषि र पूर्वाधार विकास जस्ता क्षेत्रमा आपसी हित बढाउने सहमति भएको छ। समारोहमा मन्त्रीहरू, पूर्व मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ