एमाले उम्मेदवार सुहाङ नेम्वाङसँग प्रश्न गर्दा पत्रकार सचित राईमाथि ज्यानको धम्की
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २८ बुधबार
847
Shares
काठमाडौँ । नेकपा एमालेका इलामका उम्मेदवार सुहाङ नेम्वाङलाई प्रश्न सोध्दा पत्रकार सचित राईलाई ज्यानको धम्की आएको छ । राईलाई नेपाल पत्रकार महासंघ कारोबार दैनिक शाखाका सदस्य तथा अग्रज पत्रकार सचित राईले इलामको दमक–चिसोपानी सडक निर्माणसम्बन्धी विषयमा इलाम क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार सुहाङले सांसद बहाल रहँदै ‘सात दिनभित्र ठेक्का लगाइने’ भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा शेयर गर्दै राईले प्रश्न गरेका थिए ।
सोही विषयमा इलामको माङसेबुङ गाउँपालिका निवासी विनोद साम्बाले फेसबुकमार्फत राईलाई समाचार नलेख्न चेतावनी दिएका थिए । सो ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएको छ ।
धम्की दिने विनोद साम्बा ‘नेसनल भोलिन्टियर फोर्स माङसेबुङ’ का कमान्डर भएको उल्लेख उनको फेसबुक बायोमा रहेको बताइएको छ । महासंघले लोकतान्त्रिक अभ्यासमा खारिएको एमाले जस्तो पार्टीका कार्यकर्ताबाट आएको यस्तो अभिव्यक्ति अशोभनीय, आपत्तिजनक तथा कानूनी शासनको विपरीत भएको जनाएको छ ।
महासंघ समितिले ज्यान मार्ने धम्की दिने साम्बामाथि तत्काल अनुसन्धान गरी आवश्यक कानूनी कारबाही गर्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ । साथै आफ्ना कार्यकर्तामाथि छानबिन गरी उचित कारबाही गर्न नेकपा (एमाले)को पनि ध्यानाकर्षण गराइएको छ ।
महासंघले संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र नागरिकका लोकतान्त्रिक अधिकारमाथि कुनै पनि किसिमको आक्रमण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।