प्रहरीकै संरक्षणमा वीरगञ्जमा तस्करीको समानान्तर साम्राज्य [भिडियो]
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ माघ २७ मंगलबार
1.1k
Shares
वीरगञ्ज। प्रहरीभित्र एकथरिले इमान बेचेर पैसा कमाउने र अर्कोथरिले छापामारी गरेर काम देखाउने होडबाजी र अन्तरद्वन्द्वले सोमबार वीरगञ्जको आदर्शनगरमा व्यापारी र सशस्त्र प्रहरीबीच झडपको स्थिति उत्पन्न हुँदा सशस्त्र प्रहरी कुटिएर भाग्नु पर्ने अवस्था सृजना भएको थियो ।
यो घटनामा वीरगञ्ज भन्सार कार्यालयका नायब सुब्बा हाफिजुल्लाह अन्सारीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले आगोमा घ्यू थप्ने काम गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक डम्बर कार्की (हाल तालिममा), वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र भन्सारमा खटिएका केही गैरजिम्मेवार सशस्त्र प्रहरीको मिलेमतोमा राति राति "लाईन" दिने काम भएको छ ।
तराईमा खास गरी जाडो मौसममा बाक्लो हुस्सु लाग्ने गरेको र शीतलहरसमेत चल्ने गरेको वर्तमान समय बेइमान प्रहरी र तस्करहरूलाई कमाउने मौका मिलेको छ ।
मदन गुप्ताको घरमा भाडामा सञ्चालित ‘सविता इन्टरप्राइजेज’ का सञ्चालक प्रमोदकुमार कानूको गोदाममा चार दिनअघि मात्रै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारीको नेतृत्वमा चेकजाँच भएको थियो ।
सो क्रममा कागजात दुरुस्त देखिएको भन्दै टोली फर्किएको थियो। सोमबार सोही गोदाममा पुन: छापामारी गर्न पुगेको टोलीलाई साँचो लिएर आउने व्यक्ति १० बजेसम्म आउने भन्दै पर्खन आग्रह गर्दागर्दै जबर्जस्ती गर्न खोजिएपछि तनाव बढेको थियो । भन्सार र सशस्त्र प्रहरीको फरक-फरक युनिटको कार्यशैलीमा देखिएको यो विरोधाभासले व्यवसायीहरूलाई सशंकित बनाएको छ ।
उक्त घटनापश्चात जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये चन्दन सर्राफ बाहेक अन्य तीन जना निर्दोष रहेको स्थानीयको दाबी छ । स्थानीयका अनुसार शिवचन्द्र साह, प्रितम तिवारी र प्रभु साह घटनामा संलग्न नरहेको र प्रहरीले उनीहरूलाई घर तथा बाटोबाटै पक्राउ गरेको भन्दै आफन्तजनले आपत्ति जनाएका छन् ।
वीरगञ्ज भन्सारको मुख्य नाका र आसपासका चोर बाटोहरू अहिले तस्करीको 'हट स्पट' बनेका छन् । सेटिङ मिलाएर वीरगञ्ज भन्सारको शंकराचार्य द्वारबाटै भोला सर्राफ, राजेश सर्राफ, प्रदीप, मकबुल, सिकन्दर, नवराज र तमन्नाले अटो र टेम्पो प्रयोग गरी खुलेआम रक्सौलबाट मालसामान भित्र्याउने ‘लाइन’ पाएका छन् ।
उता छपकैया र खलवाटोला नाकाबाट पशुपति यादव, राजेश साह कानु, शम्भु साह, सन्नि साह, इरसाद, सोनु साह, बैजु बर्णवाल, रोशन, राजिन्द्र, राजकुमार, राजेश बर्णवाल, मनोज साह कानू, दिनेश साह, हरिन्द्र पटेल, मन्जु पटेल, ध्रुव साह, अनिल गजानन्द, सदाम, गम्भीरा साह, जितु, सुमन, रंजित, सन्दीप वर्णवाल, वकिल, शत्रुधन र लालबाबु जस्ता तस्करहरूले कपडा, काजु, किसमिस, मरिच, औषधि र हार्डवेयर जस्ता सामानहरू निर्वाध रूपमा ओसारिरहेका छन् ।
तस्करीको यो सञ्जाल इनर्वा र अलौ नाकासम्म पनि उत्तिकै सक्रिय रूपमा फैलिएको छ। इनर्वा नाकाबाट शत्रुधन, राजकुमार, मुना मियाँ, मुकेश, रामजित मुखिया, अच्छेलाल र घनश्यामले हार्डवेयरदेखि भेपसम्मका सामान तस्करी गरिरहँदा अलौ नाकाबाट सन्दीप, रोशन, विजय, रामजी, लक्ष्मी, रामबाबु-श्यामबाबु, शदुल, अरविन्द, दिलीप, अजय, मुकेश, पण्डितजी, शिवाजी, सन्तोष पटेल, सगीर मियाँ, दीपक पटेल, दीपेन्द्र, धीरज केशरी, भोला साह, सन्देश कुशवाहा, भिखारी, विजय तथा परमानन्द, सञ्जय र पवनले माछा, कुखुरा, किराना सामान, कबाडी इन्जिन र कपडाजस्ता वस्तुहरू भित्र्याइरहेका छन् । यी तस्करहरूले प्रहरी प्रशासनकै संरक्षणमा सीमा नाकालाई आफ्नो पेवा जस्तै बनाएका छन् ।
सीमाबाट भित्रिएका यी अवैध सामानहरू संगठित रूपमा देशका प्रमुख सहरहरूसम्म पुर्याइने गरिएको छ ।
नरेश अग्रवाल, नरेन्द्र, बलिराम, अन्सारी, मुकेश, अरमान र अजय जस्ता ठूला व्यापारीहरूले क्यारियरमार्फत जम्मा गरेको सामान मदन गुप्ता, किरण कटुवाल, अजय पनवल, मनोज साह, रामेश्वर तिवारी, विजय र लालबाबु न्यू दुर्गा ट्रान्सपोर्ट, हरदेव यादव र मदन यादवको दुर्गा ट्रान्सपोर्ट, अरुणको बजरङ्ग ट्रान्सपोर्ट, कृष्णा र विशाल बस्नेतको कालिका ट्रान्सपोर्ट, मुकेश वर्णवालको प्रभु मामा साझा ट्रान्सपोर्ट, राजेश मल्लिक र राजु साह पाथीभरा ट्रान्सपोर्ट तथा मुकेशले पशुपति ट्रान्सपोर्ट प्रयोग गरी काठमाडौँ, चितवन र पोखरासम्म पठाउने गरेका छन् ।
तारकेश्वर वर्णवाल, भीम र शत्रुघनले रजनिगन्धा, पानपराग र सुर्तीजन्य पदार्थ भित्र्याउने जयप्रकाश र पंकजले कवाड ब्याट्री नेपालबाट भारततर्फ लैजाने गरेका छन् ।
यसरी प्रहरी, तस्कर र ट्रान्सपोर्ट व्यवसायीको त्रिपक्षीय मिलेमतोमा वीरगञ्ज नाकाबाट तस्करीको समानान्तर अर्थतन्त्र फस्टाइरहेको छ।