विगतमा नेपालले सामना गरेका विभिन्न विपत्ति, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायत नेपालले सामना गरेका हरेक विपतमा विश्व समुदायबाट आवश्यकता भन्दा बढीनै सहयोग उपलब्ध भयो र हामीले कहिल्यै गुण तिर्न सकेका छैनौँ । हामीलाई सबैभन्दा उदार दिलका साथ सहायता उपलब्ध गराउने छिमेकी देश भारत अग्रपंक्तिमा देखिन्छ । नेपाललाई दुःख पर्दा हामी साथमा छौँ है भनेर सहानुभूति दिनेमा पनि अन्य देशको तुलनामा भारत नै अगाडि देखिन्छ ।
गत भदौ २४ गते मानव आकार भएका जत्थाले पुर्याएको क्षतिको पुनःनिर्माणका लागि अवश्य पनि छिमेकी देशले सहयोगका हात फैलाउँछन् कि भन्ने झिनो आशा थियो । नयाँ सरकार बने लगत्तै विश्व समुदायसँग आर्थिक सहयोगको लागि आह्वान नै गर्यो ।
विगतमा नेपालका हरेक समस्या समाधानका लागि सहयोग गर्न खुला रूपमा देखिने राष्ट्रहरू यस पटक मौन देखिए । उनीहरूले नेपालमा भदौ २३ र २४ को आन्दोलन सही थियो पनि भनेन र सहयोगका लागि कसैले हात उठाएनन् ।
आन्दोलनमा मृत्यु भएका साना भाइबहिनीहरू शहीदको सूचीमा समावेश भए । परिवारका सदस्यहरू बाँचुन्जेल आँशु बगाउँदै जीउन बाध्य बनाइए । प्रहरी कार्यालय, जेल, अदालत, प्रशासनिक भवन, संसद भवन, व्यावसायिक केन्द्र, बैँक, नेताका सार्वजनिक आवास आदिमा ठूलो क्षति भयो । विश्वमा विरलै देखिन घटना र विध्वंश भयो तर उक्त घटनाको जिम्मा पनि कसैले लिएनन् ।
लामो समयसम्म देशमा केही गर्ने हामी नै हौँ भन्नेहरू हिजोका दिनमा पनि मुरली तुन्तुरु गर्दै हिँड्थे । आज पनि त्यही तुन्तुरु पारिरहेका छन् र भोलि पनि तिनले गर्ने तुन्तुरु नै हो। एक झडकाले कहिल्यै नसुध्रने गरी जमेर बसेको पिलो निचोरिएको चाहिँ पक्का हो । त्यो आन्दोलनले खोजेको वास्तविक परिवर्तन नै हो कि कुरा अर्कै छ !आजसम्म थाहा पाउनेले बताउँदैनन्, हामीलाई थाहा छैन ।
जेन-जी नाम दिएको आन्दोलनले केही थान मन्त्रीहरू बनायो र केही मन्त्री चुनावका उम्मेद्वार भए । कोही मेयर पद भन्दा प्रधानमन्त्री नै ठीक भन्दै जेन-जी आन्दोलनमा भूमिकामै देखिनेहरू चुनावमा भाग लिन हिँडे । यहाँ चाहिँ केही छ जस्तै देखिन्छ । लामै तयारीका साथ घटना भएको भन्ने प्रमाणित गर्नका लागि फागुन २१ सम्मको निर्वाचन पर्खन पर्ने भयो ।
नेपालको हरेक परिवर्तनमा नजिकको छिमेकी देशलाई दोष दिने परम्परा रहेको सबैलाई थाहै छ । यस पटक भने हाम्रो दोष धेरै टाढाका छिमेकीतर्फ सोझिएको छ । कसैले सहयोग गर्न चासो नदेखाएको बेला भारत सरकार यस पटकको निर्वाचनका लागि ६५० ओटा साना ठूला सवारी साधन सहयोग गर्न तत्पर भयो । धन्यवाद भारत सरकार ।
नेपालमा निर्वाचनका लागि अत्यावश्यक सवारी साधन उपलब्ध गराएकोमा हृदयदेखि धन्यवाद छ । सन् २००८ बाट नेपालमा हुँदै आएका निर्वाचनमा दुई हजार ४०० हाराहारी सवारी साधन उपलब्ध गराएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकार तपाईंलाई हामी बिना प्रमाण विभिन्न लान्छना लगाउन चाहिँ छोड्दैनौँ । हामीलाई माफ गर्नुस् । हामी भनेका पहिला विवेक प्रयोग नगर्ने पछि पश्चाताप गर्ने खाले हो । भारत सरकार मेरो एउटा माग रहेको छ - तपाईंको देशका गुणस्तरीय पर्यटकलाई मेसो मिलाएर नेपाल घुम्न पठाइदिनुस् । हामीलाई वार्षिक खर्च गर्न सक्ने ५० लाख जति भारतीय पर्यटक पठाएर सहयोग गर्नुहोस् । अरु केही चाहिँदैन । हामी जस्ता भए पनि तपाईंको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । धन्यवाद भारत सरकार ।