arrow

महोत्तरीका चार सिटमा एक सय ३९ उम्मेद्वार मैदानमा, क-कसलाई रोज्लान् मतदाताले ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
election-falgun2102082-1.jpg

महोत्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दैछन् । चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेद्वारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ ।

दलका र अन्य स्वतन्त्र उम्मेद्वार बस्तीबस्तीमा पुग्दै जनतासँग हिमछिम बढाउँदै छन्। आम जनता यसैबेला दल र उम्मेद्वारलाई आफ्ना मुद्दा सम्झाउँदैछन् ।

प्रतिनिधि सभा सदस्यका लागि चार निर्वाचन क्षेत्रको महोत्तरीमा सुशासनको मुद्दा सबै क्षेत्रमा साझा जस्तै पाइएको छ।

चारओटै क्षेत्रका मतदाताले सरकारी अड्डादेखि विकास निर्माणका कामसम्म पारदर्शिता र जवाफदेही कामको मुद्दा उठाएका छन् । क्षेत्रगत रूपमा हेरिँदा क्षेत्र नं १ जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको जिल्लाको मुख्य वन क्षेत्र हो । यहाँका मतदाताले प्राकृतिक सम्पदा वन, पहाड र नदीको संरक्षणका विषय मुख्य रूपमा उठाएका छन् ।

“हाम्रो क्षेत्रको प्राथमिकताको मुद्दा नै नदी, पहाडी थुम्का र वन क्षेत्रमा हुँदै आएको अनियन्त्रित उत्खनन र अतिक्रमण नियन्त्रणको विषय हो,” महोत्तरी-१ को बर्दिबास-१४ का रामु अधिकारी भन्छन्, “नदी नियन्त्रण, व्यवस्थापन र चुरे, वन र यहाँका धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षणका स्पष्ट खाका उम्मेद्वार र दलहरूसँग उठाएका छौँ ।”

यी विषयमा स्पष्ट खाका देखाउने उम्मेद्वार आफूहरूको रोजाइमा पर्नसक्ने उनको भनाइ छ ।

यसैगरी क्षेत्र नं २ का मतदाताले बर्खामा कटान र डुबान तथा हिउँदमा पानीको हाहाकार पर्दै सबै आएको समस्या मुख्य रूपले उठाएका छन् ।

“बिग्ही, रातु, ओक्सी र कुटमेश्वरीसहितका नदीको बर्खामा ताण्डव मच्चिन्छ, हामीले घरखेत भन्न पाउँदैनौँ, डुबान र कटानले पिरोलिएका छौँ,” महोत्तरी-२ को महोत्तरी गाउँपालिका-६ का दिनेश महतो भन्छन्, “हिउँद लागेपछि सिँचाइको त कुरै छाडौँ, खानेपानीको पनि हाहाकार पर्छ ।” मुख्य खेती पेसाका आफूहरूका लागि बीउबिजन, मल, कृषि ऋण र सिँचाइ प्रबन्ध हुन नसकेको उनको भनाइ छ ।

यसैगरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासमेत सामेल रहेको क्षेत्र नं ३ का मतदाताले पनि नदी कटान डुबान तथा सिँचाइको असुविधा मुख्य समस्या भोग्दै आइएको बताएका छन् । जलेश्वर नगरका बासिन्दा युवा मतदाता भने यसपालिको निर्वाचनको मुख्य मुद्दा सुशासन हुनुपर्ने बताउँछन् ।

“हाम्रो बिग्रेकै कुरा बेथितिले हो, यसलाई विधिमा चलाउन सक्नुपर्छ,” जलेश्वर-२ का ३० वर्षीय सुनिल साह भन्छन्, “सबै कुरा विधिमा चल्न थालेपछि क्रमशः बिग्रेका क्षेत्र ठीक हुँदै जान्छन् ।”

यसैगरी दक्षिणतिर भारत र पश्चिम सर्लाहीसँग जोडिने क्षेत्र नं ४ का बासिन्दा हर्दी र मडहा नदीको कटान र डुवानबाट बर्षौंदेखि पीडित छन् ।

यसैगरी यस क्षेत्रमा भरपर्दो अस्पताल नहुँदा बिरामी हुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेको यसै क्षेत्रको रामगोपालपुर-२ का सामाजिक कार्यकर्ता महम्मद कादिर हुसैन बताउँछन् ।

“हाम्रो क्षेत्र शिक्षा र स्वास्थ्यमा पहुँचका दृष्टिले निकै पछि छ,” हुसैन बताउँछन्, “यसैगरी नदी कटान र डुबानसँगै सिँचाइको असुविधा हाम्रा टड्कारा समस्या हुन् ।” प्रतिनिधिसभा निर्वाचनको यो महायज्ञमा यी विषय जिम्मेवारीवोध गर्ने उम्मेद्वार आफूहरूको पर्खाइमा रहेका उनी बताउँछन् ।

अहिले निर्वाचन अभियानका क्रममा मत माग्दै बस्तीबस्ती पुग्दै गरेका दलका कार्यकर्ता र उम्मेद्वारसँग मतदाता यी विषय उठाउँदैछन् । यी विषयसँग आफूलाई जोडेर निदानको स्पष्ट खाका कोर्नसक्ने उम्मेद्वार मतदाता खोज्दैछन् ।

“हामी यसपालि यहाँका विषयमा स्पष्ट खाका देखाउने र त्यसको निदानको सुनिश्चितता दिने उम्मेद्वारलाई रोज्छौँ,” क्षेत्र नं १ मा पर्ने भङ्गाहा-४ रामनगरका ३० वर्षीय युवा मतदाता रामईश्वर ठाकुरले भने ।

मुख्य दलहरूले आआफ्नो उम्मेद्वारीको औचित्यबारे राजनीतिक तर्क दिए पनि आम जनता भने यी कुरामा वास्ता दिएका देखिँदैनन्। खेतीकिसानी मुख्य पेसाका बहुसङ्ख्यक जिल्लाका मतदाता भने चुनावमा आफ्ना कुरा कसले कसरी उठाउँदैछन् भन्ने हेरिरहेको बताउँछन् ।

“राजनीतिक तर्कवितर्क हामीलाई सुन्नु छैन, हाम्रो खेतबारीमा कसरी पानी पुग्छ ? किसानले अब के सहुलियत पाउँछन् ? समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?” महोत्तरी-२ मा पर्ने भङ्गाहा-२ बखरीका किसान जीवछ सिंह थारू भन्छन्, “उम्मेदवारहरू यी कुराको योजनासहितको जवाफ लिएर हामीसँग कुरा गरून् ।”

चार प्रतिनिधिसभा क्षेत्र रहेका जिल्लामा १५ स्थानीय तह छन् । जसमा १० नगरपालिका र पाँच गाउँपालिका छन् । जिल्लामा १० नगरपालिकाको सङ्ख्या भए पनि नगरभित्रका अधिकांश बस्ती ग्रामीण परिवेशकै छन्।

पूर्वाधार विकासबिना नै नगरपालिका भनिएका आफ्ना ठाउँ सहुलियतविनाको कर बढाउने ठाउँ मात्र बनेका सर्वसाधारणको टिप्पणी सुनिन्छ ।

जिल्लाका चार ओटै प्रतिनिधिसभा क्षेत्रका आम बासिन्दा अधिकांश कृषि पेसामा आबद्ध छन् । ‘गाउँगाउँमा सिंहदरबार’ को नारा लगाइए पनि जिल्लाका अधिकांश स्थानीय तहमा व्यवस्थित कृषि शाखासम्म नरहेको मतदाताको गुनासो छ ।

कुनै तहका प्रतिनिधिमा पनि कृषि चासोसम्मको विषय नदेखिएको गौशाला नगरपालिका-१ रामनगरका ५५ वर्षीय गणेश महतो बताउँछन् । अब यसपालिको चुनावमा भने लोलोपोतोमा भोट नजाने मतदाता बताउँछन् ।

निर्वाचनमा होमिएका दल र उम्मेदवारहरूले सोच्न नभ्याएका कुरा मतदाताबाट आउन थालेपछि अब सो अनुसारका प्रतिज्ञापत्रको तयारीमा दलहरू लागेका छन् ।

“हामीले समग्र विकासको मुद्दा त उठाउँदै आएका हौँ,” महोत्तरी-१ मा पर्ने भङ्गाहा-९ सखुवाटोलका बासिन्दा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश यादव भन्छन्, “हामी स्थानीय मुद्दाबारे स्पष्ट पार्दै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारीमा छौँ ।”

यसैगरी नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालका जिल्ला नेतृत्वले पनि चारवटै क्षेत्रमा स्थानीय प्रतिबद्धतापत्र जनतामाझ पुर्‍याइने जनाएका छन् ।

निर्वाचनमा जिल्लाका चार ओटै क्षेत्रमा गरी एक सय ३९ जना उम्मेद्वार मैदानमा छन् । जसमा क्षेत्र नम्बर १ मा १२ स्वतन्त्र र १३ राजनीतिक दलका समेत २५ जना उम्मेद्वार छन् ।

यस्तै क्षेत्र नम्बर २ मा २२ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ३७ जना उम्मेद्वार छन् । यसैगरी क्षेत्र नं ३ मा २६ स्वतन्त्र र १५ राजनीतिक दलका गरी ४१ एवं क्षेत्र नं ४ मा २३ स्वतन्त्र र १३ राजनीतिक दलका गरी ३६ जना उम्मेद्वार छन् ।

जिल्लभरिमा ११ स्वतन्त्र र आठ जना राजनीतिक दलका गरी १९ जना महिला उम्मेद्वार प्रतिस्पर्धा गर्दैछन् ।

जिल्लामा चार लाख ३१ हजार दुई सय ८२ मतदाता छन् । जसमा पुरुष दुई लाख ३५ हजार एक सय ८३, महिला एक लाख ९६ हजार ९७ महिला र दुई अन्य लिङ्गी रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यिनमा क्षेत्र नं ३ मा सबैभन्दा बढी एक लाख १० हजार चार सय ३६ मतदाता छन् । यसैगरी क्षेत्र नं ४ मा एक लाख सात हजार छ सय छ, क्षेत्र नं २ मा एक लाख सात हजार पाँच सय ९४ र क्षेत्र नं १ मा एक लाख पाँच हजार छ सय ४६ रहेका निर्वाचन आयोगबाट सार्वजनिक मतदाता नामावली अभिलेखमा उल्लेख छ ।

यसपालिको निर्वाचनका लागि जिल्लामा जम्मा दुई सय ५८ मतदानस्थलमा पाँच सय ३६ मतदान केन्द्रको व्यवस्था छ । जसमा क्षेत्र नम्बर १ मा ५९ मतदानस्थलमा एक सय ३० मतदान केन्द्र व्यवस्था गरिएको छ ।

यसैगरी क्षेत्र नं २ मा ६२ मतदानस्थलमा एक सय ३३ मतदान केन्द्र, क्षेत्र नं ३ मा ७७ मतदानस्थलमा एक सय ४२ मतदान केन्द्र र क्षेत्र नं ४ मा ६० मतदानस्थलमा एक सय ३१ मतदान केन्द्र व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिए ।

जिल्लाका यी मतदानस्थलहरूमध्ये भारतीय सीमासँग जोडिएका र यातायातको सहज पहुँच नभएका समेत १६३ मतदानस्थल अति समवेदनशील, ८९ समवेदनशील र छ मात्र सामान्य प्रकृतिका रहेका जिल्ला सुरक्षा समितिले वर्गाीकरण गरेको छ ।

यी मतदानस्थलको उच्च सुरक्षा प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ