काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा दुईजना अनुगमन अधिकृत नियुक्त गरिएको जानकारी दिए।
निर्वाचन आयोगको निर्णय र मौजुदा कानुनी व्यवस्था अनुसार सहायक प्रजिअ विनोदकुमार पोखरेल र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मनोजकुमार जोशीले यो जिम्मेवारी पाएका हुन्। निर्वाचन आचारसंहिता २०८२ को पालना गराउन उनीहरूलाई विशेष अधिकार र दायित्व सुम्पिएको प्रशासनले जनाएको छ।
सहायक प्रजिअ कार्कीले निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि भएमा सर्वसाधारणलाई उजुरी गर्न समेत आह्वान गरेका छन्। कोही कसैले आचारसंहिता उल्लङ्घन गरेको पाइएमा तोकिएको ढाँचामा प्रमाणसहित उजुरी दिन सकिने उनले बताए।
यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखहरू सम्मिलित टोलीले मतदानस्थलहरूको स्थलगत निरीक्षण सुरु गरेको छ। आज धोविनी गाउँपालिकाका विभिन्न पाँच वटा वडामा रहेका सात वटा मतदानस्थलको टोलीले निरीक्षण गरी सुरक्षा अवस्था र भौतिक पूर्वाधारबारे जानकारी लिएको छ।
सुरक्षा टोलीले मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा योजना बनाउने र मतदाताहरूलाई ढुक्कसँग मतदान गर्ने वातावरण मिलाउने प्रतिबद्धता जनाएको छ। निर्वाचन नजिकिएसँगै जिल्ला प्रशासन र सुरक्षा संयन्त्रले आफ्नो सक्रियता बढाएको देखिन्छ।
आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन र सम्भावित अनियमितता रोक्न प्रशासनले कडाइ गर्ने संकेत दिएको छ। निर्वाचन सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको प्रशासनको ठम्याइ छ।