arrow

बालेनको कोठामा चोरी गर्ने तीन अभियुक्त पक्राउ

नख्खुबाट फरार कैदीसहितको समूह प्रहरी खोरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
balen-terathum.jpg

काठमाडौँ ।  नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख वालेन्द्र साह बालेनको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको साहको कोठा फोरेर चोरी गर्ने गिरोहलाई समातेर आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोकका ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर भई हाल धादिङ बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका कैदीले विभिन्न ठाउँमा चोरी गर्दै हिँडेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा पक्राउ परेका राजवाहकविरुद्ध यसअघि नै चोरी मुद्दा, खड्काविरुद्ध बैंकिङ कसुर र श्रेष्ठविरुद्ध जबर्जस्ती करणी मुद्दा रहेको तथ्य खुलेको उनले बताए। यो समूहले योजनाबद्ध रूपमा पूर्वप्रमुख साहको कोठालाई लक्षित गरी चोरी गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

पक्राउ परेका तीनैजनाको साथबाट प्रहरीले चोरी गर्दा प्रयोग गरिने विभिन्न उपकरण र चोरी गरिएका सामग्रीहरू समेत बरामद गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको र अन्य ठाउँमा भएका चोरीका घटनामा पनि उनीहरूको संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ। सुरक्षा निकायले कारागारबाट फरार कैदीहरूको खोजी र निगरानी बढाएसँगै यो गिरोह कानुनको फन्दामा परेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ