arrow

रौतहटमा तात्तियो चुनावी माहोल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
rautahot-election.jpg

रौतहट। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहटका चार ओटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।

शीर्ष नेताहरू, पूर्वमन्त्रीहरू र नयाँ अनुहारहरू यतिबेला मतदाताको विश्वास जित्न गाउँगाउँ र टोलटोलमा पुगेर घरदैलो अभियानमा व्यस्त छन् ।

रौतहट क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल चुनावी मैदानमा छन् ।

उनीसँगै नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख अजयकुमार गुप्ता प्रतिस्पर्धामा छन् । कांग्रेसको तर्फबाट नेपाल सरकारका पूर्वउद्योगमन्त्री अनीलकुमार झा, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को साझा उम्मेद्वारका रूपमा मधेस प्रदेशका पूर्व कृषि राज्यमन्त्री योगेन्द्रराय यादव पनि घरदैलोमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेश चौधरी, जनमत पार्टीका देवेन्द्र मिश्र, आम जनता पार्टीका त्रिभुवन साह र जन अधिकार पार्टीका संजय यादव पनि सक्रियताका साथ मतदाता रिझाउन व्यस्त देखिन्छन् । यस क्षेत्रमा विकास र पूर्वाधार निर्माणलाई नै सबै उम्मेद्वारले मुख्य प्राथमिकतामा राखेका छन् ।

क्षेत्र नम्बर २ मा पनि चुनावी प्रतिस्पर्धा तीव्र छ । यहाँ नेपाली कांग्रेसका तर्फबाट डा. मोहम्मद फिर्दोस आलम र नेकपा एमालेका मोहम्मद अतिउल्लाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वसांसद किरणकुमार साह, जसपाबाट रामआशिस यादव, रास्वपाबाट शेख सगीर र आम जनता पार्टीबाट भगवान पटेल पनि चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नं ३ मा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह पुनः आफ्नो वर्चस्व जोगाउने दाउमा छन् ।

उनलाई टक्कर दिन यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीकी समाजसेवी महिला उम्मेद्वार पुनम यादव र, नेकपा एमालेले पूर्वप्रदेश सांसद कुन्दन कुशवाहालाई मैदानमा उतारेको छ ।

रास्वपाका रविन्द्र पटेल धिरज, नेपाली कांग्रेसले राम कृपाल यादव, जसपाका गोविन्द चौधरी, जनमतका शेख प्रबेज आलम र नेमकिपाकी रेखा पटेल पनि मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन् ।

रौतहट क्षेत्र नं ४ यसपटक देशभरिकै ध्यान तान्ने क्षेत्र बनेको छ । यहाँ चर्चित पूर्व सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट चुनावी मैदानमा होमिएका छन् ।

धमलाको उम्मेद्वारीले यस क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । यहाँ नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी साह, नेपाली कम्युनिष्ट पार्टीका राम कुमार भट्टराई र रास्वपाका गणेश पौडेल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेद्वारहरूले बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारका प्रतिवद्धताहरू मतदातासामु राखिरहेका छन् ।

सबै क्षेत्रका उम्मेद्वारहरूले रौतहटको पिछडिएको क्षेत्रको विकास, सडक सञ्जालको विस्तार, सिँचाइ र शिक्षामा सुधारलाई नै आफ्नो चुनावी नारा बनाएका छन् ।

फागुन २१ को निर्वाचनले रौतहटको राजनीतिक भविष्य कुन दिशामा लैजाने हो, त्यसको छिनोफानो गर्नेछ । हाललाई भने रौतहटका गाउँबस्तीमा चुनावी नारा र उत्साहले माहोल निकै तातिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ