उपेन्द्र यादवको जिकिर - अबको लडाइँ अधिकार र विकासका लागि
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
1.9k
Shares
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् ।
मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रित एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र जीतको वास्तविक हकदार रहेको दाबी गरेका हुन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं ७, स्थित इटहरीमा आयोजित चुनावी छलफल तथा भेटघाटको क्रममा अध्यक्ष यादवले भने, ‘कठोर सङ्घर्ष गरेरै अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल हो, त्यसैले बाँकी अधिकारप्राप्तिका लागि जनताको मतको असली हकदार हामी नै हौँ ।’
मधेश जनविद्रोहबाटै मधेसी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायको आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै उनले अबको लडाई अधिकार र विकासका लागि हुने बताए ।
सप्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत रहेका उनले शोषित उत्पीडित जनताको अधिकारप्राप्तिका आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिँदै जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र विकासीय बजेट विनियोजन आवश्यक रहेको बताए ।
मधेशमा अझैं अशिक्षा एवम् चरम गरिबी ब्याप्त रहेको बताउँदै अध्यक्ष यादवले भने ‘जनसङ्ख्याको आधारमा हाम्रो भागेदारी आवश्यक छ, सङ्घीय संरचनामा प्रदेशहरु त स्थापना भयो तर अधिकार छैन, त्यसैले अधिकारसम्पन्न प्रदेश अब हामी बनाउँछौं ।’
तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल हालको जसपा नेपालको नेतृत्वमा सङ्घर्ष हुनु अघिको अवस्थाबारे स्मरण गराउँदै जसपा नेपालका अध्यक्ष यादवले भने ‘सरकारी कार्यालयमा मधेसी अनुहार नगण्य जस्तै थियो तर अहिले सरकारी कार्यालयहरूमा मधेसी चेहरा पनि देखिन थालेको छ । यतिमात्र होइन, सेना पुलिसलगायतका सुरक्षा अङ्गहरूमा समेत समावेशिता र प्रतिनिधित्व देखिन थालेको छ, यो मधेस विद्रोहकै देन हो ।’