राष्ट्रिय सभाबाट विधि विज्ञान प्रयोगशाला विधेयक पारित
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
770
Shares
काठमाडौँ । राष्ट्रिय सभाले 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' सर्वसम्मतिले पारित गरेको छ। शुक्रबार बसेको सभाको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उक्त विधेयक पेस गरेका थिए।
यो विधेयक पारित भएसँगै अब देशमा विधि विज्ञान प्रयोगशालाको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि आवश्यक कानुनी बाटो खुलेको छ। यसले अपराध अनुसन्धान र न्याय सम्पादनको प्रक्रियालाई थप वैज्ञानिक र विश्वसनीय बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
विधेयकमा प्रयोगशालाको काम, कर्तव्य, अधिकार र संरचनाबारे स्पष्ट कानुनी व्यवस्था गरिएको छ। बैठकमा विधेयकमाथि परेका संशोधन र विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल भएपछि यसलाई निर्णयार्थ पेस गरिएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा अनुमोदन गर्यो।
यो विधेयक पारित भएसँगै आजको बैठकका अन्य कार्यसूचीहरू पनि सम्पन्न भएका छन्। राष्ट्रिय सभाको अर्को बैठक आगामी माघ २६ गते सोमबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ।