कांग्रेस उम्मेदवार कबिर राणाको दाबी - यस पटक पन्ध्र साल दोहोरिन्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
1k
Shares
काठमाडौँ । करिब चार दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका कबिर राणा नेपाली कांग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट उम्मेद्वार छन् ।
आफूलाई मिसन पत्रकारितामा स्थापित गराएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत छन् । पार्टीको नीति र लोकतान्त्रिक मूल्य-मान्यतालाई आफ्नो क्षेत्रमा पुर्याउन क्रियाशील राणासँग चुनाव केन्द्रित कुराकानी गरिएको छ ।
चुनावको तयारी कसरी गरिरहनुभएको छ, मतदाताहरुको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
विशेषत: पार्टीका विभिन्न निकाय अन्तर्गत जिल्ला, क्षेत्रीय, नगर समितिसम्मको मिटिङ चलिरहेको छ। पार्टीको संगठनहरुलाई सक्रियता बढाउँदै गइरहेका छौं । फुर्सदको समयमा मतदाता पनि भेटिरहेका छौं । घरदैलो त शुरू गरेका छैनौँ तर विभिन्न भेगमा पुगेर ज्येष्ठ नागरिकहरू, जात्रामात्रा, स्वस्थानी पूजा अन्य गतिविधिमा सामेल भइरहेको छौँ । भेटले उत्साहित बनाएको छ । कांग्रेस सच्चिएर र बदलिएर आएकाले थप उत्साह थपेको छ । विशेष परिस्थिति हुन लागेको चुनाव कांग्रेस सच्चिएर र नेतृत्व परिवर्तन गरेर आएकाले थप उत्साह थपेको छ ।
म झन्डै साढे चार दशक भन्दा बढीदेखि राजनीतिमा क्रियाशील छु । साढे तीन दशक भन्दा बढी पत्रकारितामा क्रियाशील भए । वकील पनि भएकाले हरेक विषयमा जानकार पनि छु । दुःख गरेको, जेलनेल भोगेको र अनुभवी पनि भएकाले मतदाताले स्नेह गरिरहनुभएको छ । २०४९ सालमा स्थानीय चुनाव जितेर २०५४ सम्म भक्तपुर जिल्ला विकास समितिमा जिल्ला सदस्यको रुपमा पनि काम गरेको थिएँ । त्यसबेलाको कामप्रति भक्तपुरबासी अत्यन्तै खुशी पनि हुनुभएको थियो ।
म पदमा हुँदा निर्विवाद र निष्कलंक भएको हुनाले नै जिल्ला स्तरीय राजनीतिक हाइट बनेको थियो । त्यसलाई मैले कायमै राखेको छु । मैले टिकट पाउँदा जनता खुसी नै छन् र कांग्रेसका समर्थक एवं शुभचिन्तक सबै खुसी छन् ।
एकदमै सुन्दर ठाउँ हो भक्तपुर । जेन-जी आन्दोलनपछि सबैले माग गरेको कुरा सुशासन नै हो । यस बीचमा धेरै कुशासन र भ्रष्टाचारका कामहरू भए । त्यसलाई निर्मूल पार्ने हाम्रो जिम्मेवारी छ । ०६२/६३ को आन्दोलनपछि तीन, चार जनाको नेतृत्वमा म्युजिकल चेयर जस्तो गठबन्धनको सरकार चलिरहयो । जसका कारण मान्छेहरू वाक्क दिक्क भएका थिए ।
जेन-जी आन्दोलनले पनि सुशासन र सामाजिक संजाल निर्वाद संचालनको माग गरिएको हो । किनभने सामाजिक संजालबाट युवाहरूले स्वदेशमा बसीबसी मजाले कमाइरहेका थिए, त्यो रोकियो । सुशासनको कुरा उठाइरहेका थिए । त्यो रोकिएकाले विद्रोह भएको हो । अब हामीले त्यसलाई सम्बोधन गर्नैपर्छ । त्यो सम्बोधन गर्नका कांग्रेसमा चौथो पुस्ताका भनौँ जेन-जी खालकै नेतृत्व आएको छ । उनीहरूको पहिलो बैठकबाटै निर्णय गर्दै पार्टी बदलिएको सन्देश दिइसकेका छन् । अब देश बदल्नुपर्छ । जेन-जीको भावनाको सम्बोधन हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।
भक्तपुरको कुरा गर्दा यो कला, संस्कृति र सम्पदाको धनी जिल्लाको हो । यहाँको कला संस्कृति सम्पदामा अझ सुधार गरेर र संरक्षण गरेर अघि बढ्नुपर्छ भन्ने लाग्छ । विश्वकै एक नम्बर टुरिस्ट हब बनाउने गरी काम गर्नु पर्नेछ । संघीय संसद भनेको नीति निर्माता हो, जो सरकारले संचालनका लागि आवश्यक छ । त्यसका लागि मेरो भूमिका अर्थपूर्ण हुन्छ । पत्रकार भनेको स्थायी प्रतिपक्ष हो । चौथो अङ्ग वाचडगका रुपमा काम गर्नुपर्ने, सरकारको विपक्षमा काम गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि पोख्त छु । कानुनको पनि विद्यार्थी भएको हुनाले संसदमा मलाई सजिलो पनि हुन्छ । हरेक विधेयक वा ऐन बनाउने कुरामा भूमिका म अब्बल सावित हुनेछ ।
यो कुरा भक्तपुरका जनताले बुझेका छन् । म चुनाव लडेको क्षेत्र खानेपानीको हाहाकार भएको ठाउँ हो, भर्खरै भर्खरै मेलम्चीको पानी आएको छ । तर यहाँ मेलम्चीको पानी बर्खा याममा त आउँदै आउँदैन । त्यसका लागि स्थायी रुपले केही न केही काम गर्नुपर्नेछ । यता आशापुरीमा एउटा स्थायी खानेपानीको स्रोत छ । त्यसलाई स्रोत बनाएर पानी संकलन गरेर क्षेत्रभरि वितरण गर्न सकियो भने केही वर्षसम्मका लागि सहज हुनेछ । बस्ती बढ्दै गएकाले खानेपानीको समस्या समाधान गर्नैपर्ने वाध्यता छ । नैचालमा पनि पानीको स्रोत भएकाले त्यहाँबाट पनि खानेपानी ल्याउन सकिने आधारहरू छन् । यसमा म पहल गरेर काम गर्नु सक्छु ।
त्यसबाहेक भक्तपुरमा मुख्य नदीको रुपमा रहेको हनुमन्ते खोला जसको ०३७/३८ सालसम्म हामी त्यही नुहाएर त्यहीको पानी लगेर पुजा गरेर खाने खान सक्ने अवस्था थियो । अहिले त्यहाँ खुट्टा डुबाउन सक्ने अवस्था पनि छैन । त्यहाँ ढल मिसाउन रोकेर ट्रिटमेन्ट गरेर सफा हनुमन्ते बनाउन पहल गर्नुपर्नेछ । हनुमन्ते करिडोरको नारा उठेको छ, त्यो तर नारामै सीमित छ । अहिलेसम्म त्यो अगाडि बढ्न सकेको छैन । त्यसलाई पूरा गर्नुपर्नेछ । भक्तपुरमा सहरीकरण बढेको छ तर अव्यवस्थित छ । अब व्यवस्थित सहरीकरण गरेर भक्तपुर नमुनाको शहर बनाउन पनि लागि पर्नेछु ।
अन्य मुद्दा र अपेक्षा के-के छन् ?
भक्तपुरमा धेरै धार्मिक एवं सांस्कृतिक स्थल छन् । सूर्यविनायकमा केदारनाथको शिर डोलेश्वर आशापुरी, अनन्त लिङ्गेश्वर जस्ता धार्मिक तीर्थस्थलहरू छन् । प्राणी उद्यान केन्द्रको पनि काम भइरहेको छ । सदर चिडियाखाना यहाँ सार्ने कुरा पनि भइरहेको छ। त्यसका लागि काम शुरू भइसकेको छ, त्यसका लागि थप पहल गर्नुपर्नेछ । मध्यपुर भनेको कला र संस्कृतको नगर हो, त्यहाँ जात्रा र भजन मण्डली धेरै हुन्छन् त्यसको संरक्षण गर्नुपर्नेछ । जात्रा र संस्कृतिको सहर भएकाले त्यसको संरक्षण गर्नुछ । सम्पूर्ण भक्तपुरको कला संस्कृति सम्पदालाई संरक्षण गर्नुपर्ने मेरो दायित्व छ । भक्तपुरबासी उद्योग धन्दामा पनि बढि सक्रिय भएकाले इँटाभट्टा उद्योगहरू, कृषि उद्योगहरू, जग्गा प्लटिङको समस्या छन् । जसमा नीतिगत मात्र होइन अन्य व्यवहारिक समस्याहरू पनि रहेकाले त्यसको समाधानमा काम गर्नुपर्नेछ ।
इँटाभट्टा र प्लटिङको चाहीँ कस्ता किसिमका मुद्दाहरू उठेका छन् ?
इँटाभट्टाले त धेरैलाई रोजगारी दिएको छ र व्यवसाय पनि चलेको छ । यसले प्रदूषण ल्यायो भन्ने छ र उब्जनीमा र्हास गर्यो भन्ने छ । इटाभट्टा क्षेत्रको जग्गामा उब्जनी राम्रोसँग हुँदैन भन्ने छ । तर अहिले यस्ता उद्योगहरू आधुनिकरण भइसकेका छन्। पहिलेजस्तो प्रदूषण हुँदैन् । स्थानीय मात्र होइन देशभरिका मान्छेलाई रोजगारी दिइरहेको छ। पछिल्लो समय यस्ता उद्योगहरू वातावरणमैत्री भइसकेका छन्। जहाँसम्म प्लटिङको कुरा छ त्यो सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने देखिन्छ । किनभने साना साना टुक्रामा जग्गा टुक्राएर बन्ने शहर व्यवस्थित हुँदैन । आधुनिक किसिमले गरिएको प्लटिङबाट मात्र व्यवस्थित सहर बसाल्न सकिन्छ । यसका लागि सरकारले मै सामेल भएर नयाँ नीति ल्याउनु पर्नेछ । त्यसका लागि म पूर्ण रुपमा सक्रिय हुनेछु ।
पछिल्लो समय वैकल्पिक भनिएका नयाँ दलहरू खुलेका छन् र चुनावी मैदानमा छन् । उनीहरू पूराना पार्टीहरूप्रति घेरावन्दी र मोर्चावन्दी गरिरहेका छन् । त्यस्तो चुनौतिको सामना कसरी गर्दै हुनुहुन्छ ?
उहाँहरूले पूराना भनिएका पार्टीहरूप्रति विभिन्न आरोप लगाइरहेका छन् । त्यो सबै मिथ्या छ । किनभने उहाँहरूले पनि अघिलो चुनावमा जितेर सांसद बन्नुभएको र गृहमन्त्री वा उपप्रधानमन्त्री बनिसक्नुभएको हो । अनि सरकारमा जाँदा एउटा भाषा, प्रतिपक्षमा बस्दा अर्को भाषा बोल्न सुहाँउछ ? नयाँ भन्ने दलका मान्छेको चरित्र र व्यक्तित्व एक पटक राम्ररी हेर्नुहोला। उहाँहरूमाथि पनि आरोपै आरोप छ । सबै उम्मेद्वारमाथि आरोप छ । कांग्रेस मात्र यस्तो पार्टी हो जो नयाँ भयो, हालै विशेष महाधिवेशनपछि नयाँ कांग्रेस आएको छ । नयाँ नेतृत्व आएको छ । हालको चुनावमा पनि कांग्रेसको झण्डै झण्डै दुई तिहाई नयाँ अनुहार उम्मेद्वार छन् । अहिले एक सय ६५ मा एक सय छ त नयाँ अनुहारले टिकट पाएका छन् । लोकतन्त्र, समाजवाद राष्ट्रियता स्थापित नारा स्थापना कालदेखिकै हो । केन्द्रीय समितिले १० ओटा बुँदा नारा सबैभन्दा नयाँ छ । अनि कसरी अरु नयाँ पार्टी हुन्छन् ?
तपाईँको पार्टी कांग्रेसभित्र पनि एउटा पक्ष त असन्तुष्ट छ नि ?
भक्तपुरको हकमा त्यस्तो असन्तुष्टि केही छैन । आठ आकांक्षीमध्ये एक जना आधिकारिक उम्मेद्वार भइसकेकाले केही दिन सामान्य असन्तुष्टि जस्तो देखिएको हो, त्यो मानवीय स्वभाव पनि हो । त्यो सम्पूर्ण रुपमा मिलिसकेको छ। आन्तरिक गुट चाहीं कांग्रेसमा जहिले पनि छ । २०१२ सालमा गणेशमानजी र सुवर्ण समशेरजी चुनाव लडेकै हुन्। त्यसबेलादेखि धेरै चुनावहरू भए, महाधिवेशन भए । सर्वसम्मत नेतृत्व भनेको त किसुनजी मात्रै हो । त्यसबाहेक सधैँ चुनाव भएका छन् । लोकतान्त्रिक पार्टीमा चुनावी प्रतिस्पर्धालाई गुट वा विवादका रुपमा लिनुहुँदैन । कांग्रेसमा एउटा संस्कार राम्रो के छ भने टिकट बाँड्नु अगाडि जतिसुकै विवाद भए पनि टिकट पाएपछि सबै रुखलाई बोकेर हिँड्छन । पार्टीका सबै नेताहरू परिपक्व हुनुहुन्छ । सबैजना अभिभावकका रुपमा हुनुहुन्छ ।
विगतको मत परिणामलाई चाहीँ कसरी हेर्नुहुन्छ ?
भक्तपुर २ को सन्दर्भका कुरा गर्दा २०४८ सालपछि मत खस्ने जुर परिपाटी र अवस्था हेर्दा कहिले नेपाली कांग्रेस कहिले नेपाल मजदूर किसान पार्टीले मतमा तलमाथि हुँदै आएको हो । २०१५ साल, २०४८ सालमा कांग्रेसले जितेको हो । २०५१ मा नेमकिपा पहिलो, दोस्रो राप्रपा, तेस्रो कांग्रेस, चौथो एमाले भएको हो । २०५६ मा कांग्रेसले जित्यो, दोस्रो नेमकिपा, तेस्रो एमाले भएको हो । २०६४ मा नेमकिपा पहिलो हुँदा हामी दोस्रो भएका हौँ । त्यसपछिका चुनावमा पनि हामीले बाजी मारेका छौं । पूर्वसभामुख दमननाथ ढुंगाना चुनाव लडेको बेला टेक्निकल्ली समस्या भयो । वास्तवमा एमाले यस क्षेत्रमा तेस्रो हो । जुनसुकै हालतमा पनि नेपाली कांग्रेस यस क्षेत्रमा बलियो हो । २०१५ सालदेखि भक्तपुर २ नेपाली कांग्रेसको गढ क्षेत्र हो ।
तर पछिल्लो समय मतदाताहरूको मनोविज्ञान अलिकति खलबलिएको जस्तो देखिन्छ, यस पटक मत परिवर्तन गर्ने संकेत देखिएको छ नि ?
सामान्य ह्वीम जस्तो देखिन्छ तर हामी मतदाताको घरमा पुग्दा धेरै भिन्नता पाएनौँ । पाका र युवा मतदातामा थोरै फरकपन पाएका छौँ । हालै नेपाली कांग्रेस आयोजना गरेको भेलामा करिब २५ प्रतिशत सहभागी २५ बर्ष उमेर समूह मुनिका थिए । पार्टीभित्र जेन-जीको बाहुल्यता छ । चुनावमा जेन-जीलाई सम्बोधन गर्ने भनेरै हाम्रा प्रतिबद्धता पत्र अनि संकल्प पत्र लिएर आइसकेका छौँ । गत भदौ २३ को घटनापछि कांग्रेसका तत्कालीन महामन्त्रीद्वयले माफी मागेर जेनजीका भावनासँग सहमत रहेको जानकारी दिइसक्नुभएको छ ।
जेन-जीहरूको भावना र उनीहरूले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्नेगरी प्रधानमन्त्री नै घोषणा गरेर जाने परिस्थिति निर्माण भएको छ । २०१५ सालमा पनि विशेष महाधिवेशन गरेर सुवर्ण शमशेरजी, बीपी कोइरालालाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा कांग्रेसले दुई तिहाई बहुमत पाएको थियो । २०५१ मा हामी दोस्रो पार्टीमा खुम्चिएका थियौँ । ०५६ मा किसुनजीलाई भावी प्रधानमन्त्री भनेर प्रस्तावित गरेर जाँदा ०४८ को इक्वेसनमा फर्केका थियौँ। हाल गगन थापाजी युवामाझ वा जेन-जीमाझ सबैभन्दा प्रभावशाली र प्रभावकारी देखिनुभएकाले पार्टी उपसभापति एवं पूर्वमहामन्त्रीले आफूभन्दा जुनियरलाई आफ्नै कार्यसमितिको सभापति बनाउनुभयो र प्रधानमन्त्रीको प्रस्ताव पनि उहाँले गर्नुभयो । केन्द्रीय समितिले सर्वसम्मतले पास नै गर्यो । जसका कारण जनतामा युवा कांग्रेस वा नयाँ कांग्रेस र जेन-जीको भावना अनुसार चल्ने कांग्रेस भन्ने सन्देश गएको छ । त्यसले कांग्रेसको मत बढाउँछ जस्तो लाग्छ ।
त्यसोभए भक्तपुर २ मा तपाईँको मुख्य प्रतिस्पर्धी को हो त ?
यसबीचमा धेरै मिडियाहरूमा अन्तरवार्ता दिएको छु । सबैमा मैले जनतालाई जनार्दन मानेको छु । जनताको मन जितेर मतदान जित्नेमा विश्वस्त छु । म जनताबाहेक कसैलाई सोध्दा नि सोध्दिन हेर्दा नि हेर्दिन । कुनै पार्टी वा कुनै उम्मेद्वारलाई मेरो वैरभाव छैन । कसैलाई आलोचना गर्नु पनि छैन । त्यसैले मेरो प्रतिस्पर्धा भनेको जनता हो । जनताको मन जित्ने हो । कसैलाई प्रतिस्पर्धी मानेर होच्याउन पनि चाहन्न । सबै साथीहरू जनतामा जानुपर्छ, जनताको मन जित्न लाग्नुपर्छ । मन जित्ने कुरामा म एक नम्बर हुन्छु भन्नेमा विश्वस्त छु । जनताको सेवक हुन लागेको हुँ, शासक होइन । राजनीति भनेको पेशा होइन, समाजसेवा हो नि । म झण्डै पाँच दशकदेखि राजनीतिमा क्रियाशील छु, नजिकबाट नियालिरहेको छु । जनताको सेवक बाहेक मैले आफूलाई शासक रुपमा कहिले काम गरेको छैन् । किनभने म कुनै सार्वजनिक पदमा छैन । तर सरकारको नजिक भएर जजिसक्दो जनताको सेवा गरेको छु । मेरो हैसियतले भ्याएसम्म सेवा गरेको छु । जनताको मन जित्ने मान्छे हुँ, अहिले पनि जनताको मन जित्न लागिरहेको छु ।
मतदाताप्रति तपाईको सन्देश के छ ?
जेन-जी विद्रोहपछि हुन लागेको विशेष परिस्थितिको यो चुनावमा सबै सचेत हुनुपर्छ भन्न चाहन्छु । यतिबेला गरेको मतदानले गैरजिम्मेवार शक्तिको उदय नहोस् । अराजनीतिक शक्ति उदय हुँदा राष्ट्र नै संकटमा पर्नसक्ला वा तानाशाह जन्मेला भन्नेमा सबैजना सचेत हुनुपर्नेछ । मुलुक विषम परिस्थितिमा छ , लोकतन्त्र संकटमा छ भन्ने चर्चा भइरहेकाले यसमा सबै मतदाता सचेत हुनुपर्नेछ । ००७ साल, ०४६ साल, ६२/६३ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन प्रमुख भूमिका निर्वाह गरेको कांग्रेस पाको हो तर युवा नेताले हाँकेको पार्टीलाई मतदाताले मत दिनुहुन्छ भन्नेमा विश्वस्त छु । बीपी कोइरालाले भनेको जस्तो ‘आफूमा कन्फ्यूजन हुन लाग्यो भने आफू बसेको धर्तीको एक मुठी माटो लिएर आत्मालाई सोचेर निर्णय गर्नु’ भनेको जस्तो अहिलेका मतदाताले पनि त्यही गर्नुपर्ने अवस्था छ। त्यसैले देशभरका मतदातालाई आह्वान गर्छु - फागुन २१ गते नेपाली कांग्रेसका देशभरिका उम्मेद्वारलाई मतदान गरी कांग्रेसको सरकार बन्ने वातावरण बनाइदिनुहोला भन्न चाहन्छु । (नेपाल न्यूज बैंकबाट)