यस्ता छन् राष्ट्रपति पौडेलको जापान भ्रमणका उपलब्धि
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
859
Shares
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राष्ट्रपतिको जापान भ्रमणका क्रममा दुई देशबीचको आपसी हितलाई थप मजबुत बनाउने विषयमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणको विवरण सार्वजनिक गर्दै उनले व्यापार, लगानी, स्वास्थ्य, कृषि र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहयोग बढाउने सहमति भएको बताए।
सचिव राईका अनुसार राष्ट्रपतिले जापानसँगको ७० वर्षे कूटनीतिक सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्न विशेष चासो देखाएका छन्। विशेष गरी मानव संशाधन विकास र वातावरण संरक्षणका क्षेत्रमा जापानी प्रविधि र सहयोग भित्र्याउने विषयमा भ्रमण केन्द्रित रहेको उनले उल्लेख गरे।
भ्रमणका क्रममा राष्ट्रपतिले नेपालका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने र द्विपक्षीय व्यापार एवं पर्यटन विस्तार गर्ने ठुलो सम्भावना रहेको औँल्याएका छन्। सचिव राईले बताए अनुसार राष्ट्रपतिले जापानमा बसोबास गरिरहेका नेपालीहरूको भूमिकालाई पनि महत्त्वपूर्ण मानेका छन्। विदेशमा रहेका नेपालीहरूले नेपालको पर्यटन प्रवद्र्धन र लगानी भित्र्याउन सेतुको काम गर्न सक्ने राष्ट्रपतिको विश्वास छ। जापानका उच्च अधिकारीहरूसँगको भेटमा नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश प्रवाह गरिएको र यसले सकारात्मक नतिजा ल्याउने अपेक्षा परराष्ट्र मन्त्रालयले गरेको छ।
राष्ट्रपतिले नेपाल र जापानबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित रहेको भन्दै हालको सौहार्दपूर्ण अवस्थाप्रति खुसी व्यक्त गरेका छन्। परराष्ट्र सचिव राईले यो भ्रमणले दुई मुलुकबीचको सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको दाबी गरे। जापानले नेपालको पूर्वाधार र शिक्षा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसलाई अझ फराकिलो बनाउन जापानी पक्ष सकारात्मक देखिएको उनले बताए।