arrow

एमालेको चुनावी कार्ड: ओलीलाई फेरि प्रधानमन्त्री बनाउने घोषणासहित मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
kp-oli-katakchaya.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्वका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रामबहादुर थापाले यसबारे औपचारिक जानकारी दिएका हुन्। उनले मुलुकको रक्षा गर्न तथा देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई पुनःस्थापित गर्नुपर्ने आवश्यकता रहेकाले ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्दै पार्टी चुनावी मैदानमा होमिएको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा बोल्दै थापाले अब देश बनाउने शक्तिलाई जिताउनुपर्ने खाँचो रहेको बताए। नेपालको आर्थिक वृद्धि भइरहेको र समृद्धिको एकीकृत खाकाका साथ काम भइरहेको अवस्थामा विभिन्न शक्तिहरू मिलेर अघिल्लो सरकारलाई विस्थापन गरेको उनले दाबी गरे।

जनताले ती सबै कुरालाई राम्ररी बुझेकाले निर्वाचनमा एमालेलाई नै रोज्ने विश्वास उनले व्यक्त गरे। साथै, उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको संसद् पुनःस्थापनाको मुद्दाबारे अदालतले चाँडै फैसला दिनुपर्नेमा समेत जोड दिए।

एमालेले ओलीको नेतृत्वमा भएको विकास निर्माण र राष्ट्रियताको अडानलाई नै मुख्य चुनावी एजेन्डा बनाउने सङ्केत गरेको छ। उपाध्यक्ष थापाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एमालेको एकल बहुमत आवश्यक रहेको उल्लेख गरे।

पार्टीभित्र र बाहिरका चुनौतीहरूका बीच एमालेले आफ्नो नेतृत्व स्पष्ट पार्दै चुनावी सरगर्मीलाई थप बढाएको छ। अबको निर्वाचनले देशको राजनीतिक दिशा तय गर्ने र त्यसमा एमाले निर्णायक शक्ति हुने उनले दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ