चुनाव बिथोल्न सामाजिक सञ्जालको प्रयोग हुन सक्ने जोखिम, आयोगले कस्यो सुरक्षा घेरा
"निर्वाचनको स्वच्छ माहोल धमिल्याउन दिइँदैन"— प्रमुख आयुक्त भण्डारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
1k
Shares
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। निर्वाचनमा हुन सक्ने यस्ता गलत क्रियाकलाप रोक्न पहल गर्ने प्रतिबद्धतासहित आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्।
प्रविधिमार्फत फैलाइने गलत सूचनाले निर्वाचनको स्वच्छ वातावरणलाई धमिल्याउन सक्ने भएकाले सबै पक्ष सजग हुनुपर्नेमा उनले जोड दिए। निर्वाचन प्रयोजनका लागि टिकटकले देखाएको तत्परता र निःशुल्क सहयोग गर्ने इच्छालाई उनले महत्त्वपूर्ण कदमको रूपमा प्रशंसा गरेका छन्।
भण्डारीले आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुन नहुने र यसले निर्वाचनलाई प्रत्यक्ष दखल पुर्याउने प्रयास हुन सक्ने बताए। उनका अनुसार अहिले विश्वको नजर नेपालको निर्वाचन आयोग र यहाँ हुन लागेको निर्वाचनमा रहेकाले यसलाई मर्यादित बनाउनु सबैको दायित्व हो।
टिकटक जस्ता ठुला प्लेटफर्महरूले नेपालको निर्वाचन सफल बनाउनका लागि आफैँ अघि सरेर प्रतिबद्धता जनाउनु सकारात्मक पक्ष भएको उनले उल्लेख गरे। आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी भ्रम फैलाउने सामग्री र आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण गर्न विशेष प्रयास गरिरहेको छ।
विश्वभर नै सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढ्दै गएकाले नेपालको निर्वाचन आयोगले यस पटक प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। आयोगले टिकटक जस्ता प्लेटफर्मबाट प्राप्त प्रतिबद्धतालाई आधार मानी दुरुपयोग रोक्न कडा कदम चाल्ने तयारी गरेको छ।
निर्वाचनको माहोललाई थप व्यवस्थित र विश्वसनीय बनाउनका लागि डिजिटल साक्षरता र अनुगमनलाई समेत तीव्र पारिने भएको छ। आयोगले प्रविधिको प्रयोगमार्फत निर्वाचनलाई थप पारदर्शी बनाउने लक्ष्य राख्दै यसका चुनौतीहरूसँग लड्न प्राविधिक टोलीलाई समेत सक्रिय बनाएको छ।