सरकार जसरी पनि निर्वाचन गराउन लागिपरेको छ : प्रधानमन्त्री कार्की
निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
750
Shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताएकी छन् ।
सरकार जसरी पनि निर्वाचन गराउन लागि परेको भन्दै उनले कतै केही कारणले निर्वाचन रोकिए दोस्रो चरणमा भएपनि निर्वाचन सम्पन्न गराउने बताइन् ।
उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आए सवारी साधन प्रयोग हुनसक्ने स्थानमा मानिसहरू ओसारेर भए पनि निर्वाचन गराउने बताइन् ।
उनले निर्वाचन जसरी पनि हुने र नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताइन्।
यस पटकको निर्वाचनमा करिब ३२ अर्ब खर्च हुने अनुमान रहेको बताइन् ।
उनले भनिन्, ‘सरकारले जसरी पनि निर्वाचन गराउँछ । कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुन सक्छ । साधनको प्रयाग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला । त्यहाँ हुनै नसक्ने अवस्था हो भने त्यही रुपबाट विचार गर्नुपर्छ ।’
उनले थपिन्, ‘तर निर्वाचन जसरी पनि हुन्छ । यो इमरजेन्सी जस्तो हो । जसरी पनि निर्वाचन गराउनुपर्छ । निर्वाचन गराउँदा जनताले मत दिने हो नयाँ प्रतिनिधि आउने हो । उनीहरूले देश चलाउने हो । चुनाव सर्दैन, किन सार्नु र ? ३१, ३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनको अभावहरू पूरा गर्दागर्दै निर्वाचनको खर्च ... । म त त्यो त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग भइरहेको छ । त्यो सहयोग यो स्थिति नआएको भए अर्कोतिर हुन्थ्यो नि ।’
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको स्पष्ट पारिन् ।