विदेशी गाडी चढेर चुनाव प्रचार गर्न नपाइने, आचारसंहिता उल्लङ्घन नगर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
747
Shares
काठमाडौँ । कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले आगामी निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैलाई आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले आचारसंहिता उल्लङ्घन भएको गुनासो आएकाले सबैलाई सचेत गराएको हो।
सूचनामा आगामी फागुन ४ गतेभन्दा अगाडि जुलुस, आमसभा, कोणसभा, घरदैलो वा सञ्चारमाध्यमबाट प्रचारप्रसार नगर्न भनिएको छ। तोकिएको मितिभन्दा अघि गरिने यस्ता गतिविधि आचारसंहिता विपरीत हुने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनले जारी गरेको सूचनामा चुनावी प्रचारका क्रममा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित टोपी, टिसर्ट, ज्याकेट, मास्क वा झोला जस्ता सामग्री प्रयोग गर्न निषेध गरिएको छ।
यस्तै, सार्वजनिक स्थल, सडकका भित्ता, बिजुलीका पोल वा निजी घरजग्गामा दलको झण्डा र चिह्न राख्न पाइने छैन। सवारीसाधनको हकमा पनि निर्वाचन अधिकृतको अनुमति लिएर तोकिएको मापदण्डअनुसार सीमित सङ्ख्यामा मात्र चलाउन पाइनेछ भने विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ अनुसार नियम पालना नगरे उम्मेदवारी नै रद्द हुन सक्ने कानुनी व्यवस्था रहेकाले उम्मेदवारहरूलाई विशेष ध्यान दिन भनिएको छ।
प्रशासनले कतै आचारसंहिता उल्लङ्घन भएको देखेमा तत्काल अनुगमन अधिकृतलाई जानकारी गराउन सर्वसाधारणलाई समेत अनुरोध गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनका लागि कानुनको पालना अनिवार्य रहेको भन्दै प्रशासनले यसलाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।