विमानस्थलमा खैरो हिरोइनसहित युवती पक्राउ, काठमाडौँबाट थप दुई जना समातिए
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
838
Shares
काठमाडौँ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट काठमाडौँ आउन लागेकी एक युवती ठूलो परिमाणको खैरो हिरोइनसहित पक्राउ परेकी छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका–२ घर भएकी २६ वर्षीया रोशनी बुढालाई विमानस्थलको सुरक्षा जाँचका क्रममा सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो।
उनी यति एयरलायन्सको उडान नं ९२६ मार्फत काठमाडौँ आउने तयारीमा थिइन्। विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनले लगाएको सुरुवालको दुवै गोजीमा लुकाइराखेको १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए।
विगत दुई वर्षदेखि भारतको कोलकातास्थित एक जापानी रेस्टुरेन्टमा वेटरका रूपमा कार्यरत रोशनीले यो लागूऔषध कहाँबाट र कसका लागि ल्याएकी हुन् भन्नेबारे प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ। उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
रोशनीको बयान र उनले दिएको सूचनाका आधारमा प्रहरीले यो कारोबारमा संलग्न गिरोहका अन्य सदस्यहरूलाई पनि समात्न सफल भएको छ। लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेपछि यसको जालो अझ ठूलो रहेको खुलेको छ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछापको दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङ रहेका छन्। उनीहरू दुवै जना रोशनीसँगै यो अवैध कारोबारमा जोडिएको अभियोगमा समातिएका हुन्।