arrow

बढ्दो अतिक्रमण र प्रदूषणले सङ्कटमा सिमसार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १९ सोमबार
simsar-paryatan.jpg

काठमाडौँ । ‘सिमसार र परम्परागत ज्ञानः सांस्कृतिक सम्पदाको सम्मान’ भन्ने मूल नाराका साथ आज नेपालभर विभिन्न कार्यक्रम गरी विश्व सिमसार दिवस मनाइँदै छ। प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने यस दिवसले जलवायु परिवर्तनबाट प्रभावित सिमसार क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ।

सिमसार भन्नाले पानीको मुहान, दलदल, ताल, तलैया, नदी र धानखेत जस्ता पानी जमेका क्षेत्रलाई बुझिन्छ, जसले जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण जीवजन्तु र वनस्पतिलाई बासस्थान प्रदान गर्छ। मानव जीवनका लागि अत्यावश्यक वस्तुको सुनिश्चितता गर्ने यो क्षेत्र पछिल्लो समय मानवीय अतिक्रमण र जलवायु परिवर्तनको दोहोरो चपेटामा परेर सङ्कुचित हुँदै गएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार अव्यवस्थित पूर्वाधार निर्माण, बढ्दो जनसङ्ख्या र उद्योगबाट निस्कने फोहरमैला सोझै सिमसारमा मिसाउने प्रवृत्तिले ठूलो चुनौती थपेको छ। जलवायु परिवर्तनका कारण हुने अनपेक्षित वर्षा र बाढीपहिरोले सिमसारमा क्षति पुर्‍याइरहेको छ भने लामो खडेरीले जमिन सुक्खा हुने समस्या देखिएको छ।

रासायनिक मल र विषादीको मिसावट तथा बाह्य मिचाहा प्रजातिको आक्रमणले सिमसारको गुणस्तर र क्षेत्रफल दुवै घट्दै गइरहेको उनले बताए। सन् १९७१ मा इरानको रामसार सहरमा भएको महासन्धिको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको हो, जसमा हालसम्म १७२ देश आबद्ध भइसकेका छन्।

नेपाल सन् १९८८ मा रामसार महासन्धिको पक्ष राष्ट्र बनेको थियो। कोशीटप्पुबाट सुरु भएको यो यात्रामा हाल नेपालका १० वटा महत्वपूर्ण क्षेत्रहरू रामसार सूचीमा सूचीकृत भइसकेका छन्, जसमा रारा, से-फोक्सुण्डो, गोसाइँकुण्ड, पोखराका ताल र माईपोखरी जस्ता क्षेत्र पर्छन्।

विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणीहरू सिमसारमै आश्रित रहेको जानकारी दिए। सिमसारले जल परिचालन र शुद्धीकरण गर्ने भएकाले यसलाई 'प्रकृतिको मिर्गौला' पनि भनिन्छ। विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तुको बासस्थान सिमसारमै रहेकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी बनेको छ।

वन मन्त्रालयका प्रवक्ता विशाल घिमिरेका अनुसार सरकारले सिमसार संरक्षणका लागि राष्ट्रिय सिमसार नीति–२०६९ र वातावरण संरक्षण ऐन–२०७६ लगायतका विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको छ। सिमसारको दिगो उपयोगका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी जनचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

पर्यापर्यटनको मुख्य गन्तव्य बन्दै गएको सिमसार क्षेत्रले पर्यावरणीय सुरक्षा कवचका रूपमा काम गर्ने हुनाले यसको विनाश रोक्न नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरण गर्नु अपरिहार्य देखिएको छ। तराईदेखि हिमालसम्म फैलिएका यी प्राकृतिक सम्पदाहरू जोगाउन सके मात्र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सकिने विज्ञहरूको ठहर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ