कञ्चनपुरमा चुनावी सरगर्मी: ४८ नयाँ अनुहारसहित ५५ उम्मेदवार मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १८ आइतबार
886
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा यसपटक ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा कुल ५५ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ठूलो संख्या नयाँ अनुहारको रहेको निर्वाचन कार्यालयले जनाएको छ।
एक लाख एक हजारभन्दा बढी मतदाता रहेको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट युवा नेता गोपीप्रसाद उपाध्याय र एमालेबाट तारा लामा तामाङ चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, नेकपाबाट विना मगर र रास्वपाबाट जनकसिंह धामी उम्मेदवार बनेका छन्। यस क्षेत्रमा चार जना स्वतन्त्रसहित कुल १९ जना उम्मेदवार रहे पनि एमालेका तामाङ, नेकपाका मगर र रास्वपाका दिल्लीबहादुर शाही बाहेक सबै उनीहरू नयाँ उम्मेदवार हुन्।
निर्वाचन क्षेत्र नं २ मा पनि चुनावी प्रतिस्पर्धा उत्तिकै रोचक देखिएको छ। यहाँ कुल एक लाख नौ हजार ५७४ मतदाता छन् र स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट नारायणप्रकाश साउद, एमालेबाट वचनबहादुर सिंह, नेकपाबाट माधव पन्त र रास्वपाबाट दीपक बोहरा चुनावी मैदानमा उत्रिएका छन्।
यस क्षेत्रमा कांग्रेसका साउद र राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की बाहेक बाँकी १७ जना संघीय निर्वाचनका लागि नयाँ उम्मेदवार हुन्। नयाँ उम्मेदवारहरूको बाहुल्यताले गर्दा यसपटकको निर्वाचनको नतिजा कता जाला भन्ने चासो निकै बढेको छ।
त्यसैगरी, एक लाख तीन हजारभन्दा बढी मतदाता रहेको क्षेत्र नं ३ मा १७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा एमालेका दीपकप्रकाश भट्ट र नेकपाका मानबहादुर सुनार मात्र अनुभवी अनुहार हुन्, जो यसअघि पनि निर्वाचनमा सहभागी भइसकेका थिए।
भट्ट २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए भने सुनारले २०५१ सालमै स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनीहरू बाहेक अरु सबै उम्मेदवार यस क्षेत्रका लागि नयाँ हुन्। जिल्लाभरि नै नयाँ उम्मेदवारहरूको लहर देखिएकाले मतदाताहरूमा पनि यसपटक नयाँ जोस र उत्साह देखिएको छ।