arrow

देखाउने नै भए ! 

logo
शिवप्रसाद पोखरेल,  
प्रकाशित २०८२ माघ १८ आइतबार
shiva-pd-pokhrel-18-10-082.jpg.jpeg

२०८४ सालमा देखाइदिउँला भन्ने धेरै थिए । बाध्यतावश २०८२ को फागुन २१ मा नै देखाउने भए । दुई वर्ष अगाडि नै के देखाउने हो अवश्य देखाउने छन् । २०८२ सालमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६८ ओटा दलले प्रत्यक्ष तर्फको निर्वाचनमा भाग लिने योजनामा छन् । 

केही दलले प्रधानमन्त्री नै देखाइसके । केहीले प्रधानमन्त्री आजै देखाउन मिल्दैन भन्दै छन् । धेरैले विभिन्न नयाँ कुरा देखाउलान् जस्तो छ । अनि जनताले के-देखाउने हुन् हेर्न अझै बाँकी छ । दलहरूले धेरै वर्ष अगाडिबाट नै जनताको घरघरमा पानीका धारा दिन्छौँ, घरै अगाडिबाट बाटो दिन्छौँ भनेर भोट माग्दै आएका थिए । ती बाचाहरू धेरै पूरा पनि भएका छन् । कति दिए, कति लिए त्यसको लेखाजोखा नै छैन ।
 
पहिला-पहिला भोट माग्ने मानिसहरू गाउँ पस्दा गाउँमा मानिसहरू धेरै बसोबास गर्थे । तिनै माग्नेहरूले ग्रामीण भेगमा मानिस बस्न नमिल्ने गरी विकास देखाइदिए । जब मानिसहरू गाउँबाट विस्थापित भए त्यस पश्चात कुना काप्चामा बाटो बनाइ दिए तर त्यो बाटोमा हिँड्ने मानिस घट्दै गए । आज फेरि भोट माग्ने दिनमा प्रतिनिधिहरू गाउँ पस्दा मानिस भेट्न नै मुस्किल हुने अवस्था आयो। ग्रामीण भेगमा विगतमा विरलै देखिने बाँदर लगायतका जंगली जनावरले भरिएका छन्  । 

सहरहरूमा त अझै केही मानिस बाँकी  छन् । त्यता आजै चिन्ता लिनु पर्ने अवस्था छैन । ग्रामीण भेगबाट निर्वाचनमा उठेका प्रतिनिधिले भने यस पटक बाँदरलगायत जंगली जनावरले किसानलाई दिएको दुःखबाट छुटकारा दिलाउने योजनासहित भोट माग्नु पर्ने देखिन्छ । ग्रामीण क्षेत्रमा एक घर एक जना भोट हाल्ने मानिस पनि बस्दैनन्। अब सबै ठीक हुन्छ, सबैलाई रोजगारी दिन्छौँ भन्न पनि पर्दैन किनकि गाउँमा बस्ने सीमित मानिसले पनि सालाखाला दुई हजार रुपैयाँ जतिमा एक जनाको लागि झण्डै एक महिना पुग्ने चामल किनेर नून, तेल, चिनीको व्यवस्थाका लागि ५/७ हजार गरी जम्मा १० हजार हाराहारीले महिना झेल्न सक्ने अवस्था देखिन्छ। 

हरेक घरबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिले पठाउने रकम, सरकारले दिने भत्ता आदिले दैनिकी चलेको छ। ग्रामीण भेगमा आज रोजगारी पनि धेरै आवश्यक छैन । विगतको तुलनामा थोरै गरिबहरू छन् । उनीहरूका लागि आवश्यक केही रोजगारीको आवश्यकता छ । तिनै रोजगारी आवश्यक पर्ने व्यक्ति मध्येबाट प्रत्येक गाउँमा आजको समस्याको रूपमा रहेको बाँदर धपाउने काम दिन सकेमा अन्य कृषकका लागि केही राहत मिल्ने थियो । 

त्यसैगरी ग्रामीण भेगका बाटो सफा गर्ने, पानीको मुहान तथा धारा मर्मत गर्नका लागि अन्य केहि व्यक्तिलाई रोजगारीको व्यवस्था मिलाउन तर्फ ध्यान दिएमा केहि मात्रामा परिवर्तन हुन्छ भन्ने लाग्छ। 
ग्रामीण भेगमा सम्भावना भएको उद्योगका रुपमा वर्षभरी बगेर जाने, राम्रो मुहान भएको स्थानमा गुणस्तरीय खानेपानी कारखाना खोलेर सुलभ मूल्यमा सहरमा पानीको व्यापार गर्ने व्यवस्था मिलाउँदा कम खर्चमा धेरै व्यक्तिलाई रोजगारी दिनुका साथै आम्दानी गर्न सकिन्छ । 

बाँस बगान विकास गरेर बिक्री गर्ने व्यवस्था मिलाउँदा पनि केही आम्दानी गर्न सकिन्छ । अन्य रूख बिरुवाबाट पनि फाइदा लिन सकिन्छ। त्यसैले ग्रामीण भेगमा व्यवस्थापनका साथै बजार व्यवस्थापन गर्न तर्फ ध्यान दिएर ग्रामीण भेगलाई सुन्दर बनाउन सकिन्छ । अरु कुनै नयाँ सपना बाँड्नु पर्दैन । 
  
अब ठूला कुरा गरेर शान्तसँग बसेका जनता भड्काउन भन्दा वास्तविकतामा आधारित भएर साना तथा थोरै पूँजीका योजनाले गर्न सकिने कामतर्फ ध्यान दिनु पर्ने जरुरी भएको छ। देखाउने नै भए यस्तै साना सपना देखाएर प्रतिनिधिका रुपमा विजयी भए पश्चात पनि सोही सपना साकार गर्न तर्फ लाग्नुहोस् । 

धेरै देखाइसक्नु भयो । हामीले पनि सबै देखिसक्यौँ। अब त्यो पर्दैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ