बैतडी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सय बढी कर्मचारी परिचालन हुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई सय १४ मतदान केन्द्रमा एक हजार चार सय ४२ जना कर्मचारी खटाइने भएको हो ।
निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग गरिएको निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए ।
केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटनपटनको काम अगाडि बढाइने निर्वाचन उनले बताए ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेद्वारी कायम रहेको छ । यहाँ एक लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन् ।
तीमध्ये ७८ हजार नौ सय ८७ पुरुष, ७७ हजार तीन सय ८३ महिला र दुई अन्य मतदाता छन् ।
पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा सात जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
सुरक्षा दृष्टिले जिल्लाका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार एक सय २९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । रासस