काठमाडौँ ।मानव बस्ती पातलिँदै र जङ्गल क्षेत्र बढ्दै जाँदा गाउँघरमा बस्ने मानिसहरूलाई अहिले सबैभन्दा बढी चिन्ता बाँदरले दिएको छ। गाउँमा लगाएको बाली बाँदरले सखाप पार्न थालेपछि धेरै ठाउँका स्थानीयले खेती गर्नै छाडेका छन्।
बाली लगाउने किसानलाई यतिबेला कसरी आफ्नो मेहनत जोगाउने भन्ने पिरलो छ। यही समस्यालाई समाधान गर्न रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदर नियन्त्रण गर्ने विशेष समिति नै गठन गरिएको छ। वडा कार्यालयको अगुवाइमा किसानहरूको भेला बोलाएर यस्तो समिति बनाइएको वडाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए।
वडाध्यक्ष श्रेष्ठका अनुसार यदि बाँदर नियन्त्रण र व्यवस्थापन गर्न नसक्ने हो भने देशका ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था सिर्जना भएको छ। कृषिका लागि सरकारले विभिन्न सहयोग उपलब्ध गराए पनि बाँदरका कारण किसानले बाली भित्र्याउन नपाउनु दुखद रहेको उनले बताए।
यस समस्याको समाधानका लागि वडाले एउटा बाँदर समातेबापत समात्ने व्यक्तिलाई एक हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था समेत गरेको छ। समातिएका बाँदरलाई रङ्ग लगाएर छाड्ने जस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
स्थानीयका अनुसार बढ्दो जङ्गलका कारण बाँदर नियन्त्रण गर्न निकै कठिन भइरहेको छ। "बाँदर रुखको टुप्पामा पुग्छ, बूढाबूढीले त धपाउनै सक्दैनन्," स्थानीयले आफ्नो बाध्यता सुनाए। यो समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले बारीका काल्नामा रहेका रुखहरू काँटछाँट गर्ने र जङ्गल जस्तै बाक्लिएका झाडीहरू फँडानी गर्ने कार्यक्रम पनि अघि सारेको छ। यसो गर्दा बाँदर लुक्ने ठाउँ कम हुने र नियन्त्रण गर्न सहज हुने वडाध्यक्ष श्रेष्ठको विश्वास छ।