arrow

चुनावी प्रतिस्पर्धामा कांग्रेसको सद्भाव अभ्यास

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ माघ १७ शनिबार
nepali-congress-flag.jpg

हुम्ला । नेपालको चुनावी राजनीति प्रायः आरोप–प्रत्यारोप, प्रतिशोध र व्यक्तिकेन्द्रित विवादमा सीमित हुँदै आएको छ। नीति, दृष्टि र विकासका सवालहरू पछाडि धकेलिँदा जनतामा निराशा बढ्नु स्वभाविक हो ।

यही पृष्ठभूमिमा हुम्लामा नेपाली कांग्रेसले शुरू गरेको सद्भाव बैठकको अभ्यास केवल एक कार्यक्रम होइन, चुनावी संस्कार सुधारतर्फको स्पष्ट राजनीतिक सन्देश हो।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो तर प्रतिस्पर्धा मर्यादाहीन बन्दा यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ। विगतका चुनावहरूले भड्किलो भाषण, चरित्र हत्या र विभाजनकारी प्रवृत्तिले कसरी सामाजिक सद्भाव भत्काएको छ भन्ने उदाहरण प्रशस्त छन् । 

यस्तो अवस्थामा प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर स्वच्छ प्रतिस्पर्धा, सकारात्मक चुनावी गतिविधि, साझा समस्या–साझा समाधान र संवादको राजनीति अघि सार्नु साहसी र प्रशंसनीय कदम हो ।

हुम्ला भौगोलिक रूपमा दुर्गम, आर्थिक रूपमा पिछडिएको र राज्यको सेवा पहुँचबाट अझै पनि टाढा रहेको जिल्ला हो । यहाँ विकासको बहस व्यक्तिगत जीत–हारभन्दा माथि हुनुपर्छ। सद्भाव बैठकमा उठाइएका गरिबी, दुर्गमता,  विकास, युवाको भविष्य र जनताको म्यान्डेटको सम्मानजस्ता मुद्दाहरू यही यथार्थसँग जोडिएका छन्। दल फरक भए पनि हुम्लाको पीडा साझा हो भन्ने स्वीकारोक्ति नै परिपक्व राजनीतितर्फको संकेत हो ।

तर यति भन्दैमा सबै प्रश्नको उत्तर मिल्दैन । सद्भावको घोषणा चुनावी मञ्चमा मात्र सीमित रह्यो भने यसको मूल्य शून्य हुनेछ। प्रचार अभियानमा, भाषणमा र व्यवहारमा समेत संयमता देखिनुपर्छ। सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना, उक्साउने अभिव्यक्ति र सस्तो लोकप्रियताको राजनीति रोक्न दलहरू आफैं जिम्मेवार हुनुपर्छ । यहाँ कांग्रेस मात्र होइन, सबै दलको परीक्षा सुरु भएको छ ।

यो अभ्यासले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षाको ऐना पनि देखाएको छ । जनताबाट टाढिँदै गएको राजनीति, प्रतिक्रियात्मक निर्णय र अवसरवादी गठबन्धनहरूले लोकतन्त्रलाई कमजोर बनाएको यथार्थ अब अस्वीकार गर्न सकिँदैन । सद्भाव, संवाद र सहकार्यलाई चुनावी रणनीतिमा सीमित नगरी राजनीतिक संस्कारकै रूपमा स्थापित गर्न सके मात्र यसको दीर्घकालीन अर्थ रहन्छ।

हुम्ला कांग्रेसको पहलले एउटा स्पष्ट प्रश्न उठाएको छ—के प्रतिस्पर्धा बिना घृणा सम्भव छ ? उत्तर व्यवहारमा निर्भर छ। यदि यो अभ्यास निरन्तर रह्यो भने, हुम्लाबाट सुरु भएको सद्भावको राजनीति देशभर फैलन सक्छ। नत्र भने, यो पनि चुनावी मौसमको एक औपचारिक कार्यक्रममै सीमित भएर इतिहासमा हराउनेछ।

निर्वाचन जित्ने–हार्ने विषयभन्दा माथि लोकतन्त्रको भविष्य छ र त्यो भविष्य सभ्य प्रतिस्पर्धा, स्पष्ट विचार र जनमुखी राजनीतिबाट मात्र सुरक्षित हुन्छ भने  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी माहोल तातेको छ। 

यस्तो समयमा हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकायाको पहलमा अन्य राजनीतिक दलका उम्मेदवारहरूसँग सम्पन्न सद्भाव बैठकले नेपाली राजनीतिमा एक सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ