arrow

हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
pakistan-medicine-drugs.jpg

सर्लाही। सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औषधि सेवन गराउने तयारी गरिएको हो।

विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोज महिनामा सर्लाहीका २० ओटै पालिकामा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो।

परीक्षणपछि जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय अवस्थामा रहेको देखिएपछि औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा गरिएको परीक्षणका क्रममा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण देखिएको थियो।

तीमध्ये पनि राति सङ्कलन गरिएको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित भेटिएका थिए। जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको छ। अभियानअन्तर्गत शुरूमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिइनेछ।

त्यसपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्। मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन शुरू भइसकेको र अन्य पालिकामा तालिम जारी रहेको जनाइएको छ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षभन्दा माथिका सबै नागरिकलाई खुवाइनेछ। अभियानमार्फत १२ पालिकाका करिब ८० प्रतिशत जनसंख्या अर्थात् चार लाख ३० हजार नौ ४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ