जेन-जीहरूको म्यान्डेट अनुसार काम गर्ने सपना राजभण्डारी जोशीको प्रतिबद्धता [भिडियो]
नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न सक्रिय राजनीतिमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
947
Shares
काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको धर्मपत्नी सपना राजभण्डारी जोशी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रत्यक्षतर्फ उम्मेद्वार छिन् । उनी यतिबेला कांग्रेस कार्यकर्तासँग आन्तरिक बैठकसँगै मतदाता भेटघाटमा व्यस्त छिन् ।
नेता नवीन्द्रराज जोशीसँग वैवाहिक जीवनमा गासिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहेकी सपना पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील थिइन् ।
नवीन्द्र सोही क्षेत्रबाट ०६४ र ०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । राम्रो सांगठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापित गराएका उनी क्षेत्र र पार्टीभित्र लोकप्रिय थिए ।
नवीन्द्र सक्रिय राजनीतिमा रहेकाबेला गृहिणीसँगै विभिन्न सामाजिक काममा सक्रिय रहेकी सपना पछिल्लो संयम राजनीतिक गतिविधिमा देखिन थालेकी थिइन् । नेपाली कांग्रेसका सार्वजनिक कार्यक्रममा सक्रिय थिइन् ।
१३ चैत २०७७ मा मस्तिष्कघातबाट नवीन्द्रराजको निधन भएपछि पार्टीले नै उनलाई राजनीतिमा थप सक्रिय गराएको थियो । नवीन्द्रको इमान्दारीता, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको बताएकी उनले मतदाताको स्नेह आफूप्रति रहेको बताइन् ।
‘पहिलो चरणको चुनावी तयारीमा छु। पार्टीपङ्तिका साथीहरूसँग बैठक बसेर चुनावी रणनीति बनाइरहेका छौं । हालसम्मको अवस्था हेर्दा सबैको स्नेह पाउँछु भन्नेमै छु,’ उनले भनिन् ।
आफ्नो क्षेत्रका मतदाताको ठूला आवश्यक्ताहरू नभए पनि दैनिक जीवनमा पर्ने आधारभूत कुराहरू ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
‘मतदाताका अपेक्षाहरू धेरै हुन्छन् । तर यस क्षेत्रका मतदाताहरूको ठूला आवश्यक्ताहरू छैनन् । पूरा गर्ने किसिमकै छन् । त्यसका लागि म निर्वाचित भए भने राम्रो हुनेछ भन्नेमा सबैजना आशावादी हुनुहुन्छ,’ उनले भनिन्, ‘भदौ २३ र २४ को आन्दोलन र भयावह अवस्थालाई मध्यनजर गरेर हामी अघि बढनुपर्ने अवस्था रहेकाले तत्कालको आवश्यक्ता भनेको जेन-जी आन्दोलनको म्यान्डेटलाई साकार पार्नु हो । पुराना पार्टीका व्यक्तिहरू पनि सच्चिएर र बदलिएर आउनुपर्छ भन्ने सबैको चाहना छ । सही व्यक्तिहरू आउनुपर्छ भन्ने मतदाताहरूको इच्छा छ । नेपाली कांग्रेस पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर आएकाले वा रुपान्तरित भएकाले कांग्रेसप्रति हेर्ने दृष्टिकोण बदलिएको छ।’
काठमाडौँका अधिकांश तहमा कांग्रेसको बलियो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात नगरपालिकाहरूले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताहरूको ठूलो अपेक्षा नभएको उनको बुझाइ छ ।
‘केही वडा भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका वडाबासीहरूको मागहरू सम्बोधन गर्न आवश्यक छ । मैंले यसअघि पनि धेरै मुद्दाहरूमा सहजीकरण गर्ने अवसर पाएको थिए,’ उनले भनिन् ।
काठमाडौँ ८ निर्वाचन क्षेत्र उपत्यकाको कोर एरिया रहेकाले वा पुरातात्विक महत्वका स्थान धेरै भएकाले त्यसको संरक्षण आजको आवश्यक्ता भएको जोशीको भनाइ छ ।
‘मेरो निर्वाचन क्षेत्र पुरातात्विक हिसाबले महत्वपूर्ण छ । वसन्तपुर र स्वयम्भुलगायतका क्षेत्रहरू पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरू नहुँदा यात्रु वा पर्यटकहरूले दुःख पाइरहेकाले त्यसको सुधारमा मेरो महत्वपूर्ण योजना हुनेछ। वसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरू खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्ने छ,’ उनले भनिन् ।
खोला किनारको बासिन्दाहरू आफ्नै किसिमको समस्या भएकाले त्यसको समाधानका लागि अदालतले पनि केही सहजीकरण गरिदिएको उनको बुझाइ छ ।
काठमाडौँ उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरूलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरूको आवश्यक्ता रहेकाले विद्यालयस्तरमै सचेतना आवश्यक रहेको उनको भनाइ छ ।
‘मैले यसअघिको संसदमा यही मुद्दा उठाएको थिए । जसलाई राज्यले तुरुन्तै सम्बोधन गरेर काम अघि बढाएको थियो । जसका कारण कुलतमा फसेका युथहरूलाई केही कन्ट्रोल गर्ने प्रयास भएको थियो,’ उनले स्मरण गरिन ।
नेपालको संघीय संसद सोचे जस्तो नभएको अनुभव सुनाउँदै उनले बाहिरबाट हेर्दा भन्दा भित्रको अवस्था विल्कुलै फरक हुने गरेको आफूले पाएको उनले अनुभव सुनाइन । ‘हाम्रो संसदको बाहिरी र भित्री चश्मा फरक रहेछ। काम गर्न वा विधेयकहरू पारित गर्न त्यति सजिलो प्रक्रिया रहेनछ,’ उनले अनुभव साटिन ।
जेन-जी आन्दोलनको लक्ष्य र उद्देश्य राम्रो भए पनि विचैबाट ‘हाइज्याक’ गर्दा त्यसको मर्म मर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले आगामी निर्वाचनपछि आफूहरूले जेन-जीहरूको म्यान्डेट अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाइन् ।
अन्तरिम सरकारका मन्त्रीहरूले पदको लोभमा जिम्मेवारी पूरा नगरि पदबाट राजीनामा दिएकोप्रति असन्तुष्ट जनाउँदै उनले सबैलाई पद र पावर चाहिने रहेछ भन्ने प्रष्ट देखिएको उनले जिकिर गरिन् ।
‘जुन उद्देश्यका लागि मन्त्री पदको जिम्मेवारी लिनु भएको थियो सो अनुसार उहाँहरूको भूमिका देखिएन् । निस्कलंकित पनि हुनु भएन् । सबै जनालाई जिम्मेवारी पूरा गर्ने भन्दा पनि पद नै चाहिने रहेछ । चार जना मन्त्रीहरूले राजीनामा दिनुभयो । उहाँहरूलाई तुलना गर्नुहोस न कति लालसा रहेछ,’ उनले भनिन् ।
जेन-जी आन्दोलनले नेपालका सबै राजनीतिक दलहरूको आँखा खोलिदिएको बताउँदै उनले सबै दल सच्चिएर अघि बढ्नुपर्ने धारणा राखिन् ।
‘पुराना पार्टीका थुप्रै कमजोरी छन् । त्यही कमजोरीको प्रतिफल स्वरुप जेन-जी आन्दोलन भयो । यसले हामी सबैलाई सोच्न बाध्य बनायो । त्यही कारण नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो र रुपान्तरित भएर अगाडि बढिसकेको छ । नयाँ भनिएका दलहरुले पनि गल्ती नगर्लान भन्न सकिँदैन । उहाँहरू पनि सङ्लो हुनुहुन्न । तत्काल विश्वास गरिहाल्ने अवस्था देखिदैन । पुराना दलहरू बदलिएर आए जनताको विश्वास अझै जितेर अघि बढ्नेछन्,’ उनको दाबी थियो ।
उम्मेदवार जोशीले यतिबेला ठूला ठूला एजेन्डा र आश्वासनहरू बाँडेर अघि बढ्दा समस्या पर्ने पनि बताइन् । ‘पूरा गर्न नसकिने ठूला कुरा गर्न हुँदैन् । विगतको प्रतिनिधि सभामा हामीले देखिसक्यौँ । नीति बनाउने सवालमा वा विधेयक पास गर्ने सन्दर्भमा कति कठिन रहेछ भन्ने प्रष्ट देखेर भोगेर आएका छौँ । जनताले जिताएर पठाएपछि पहिलो प्राथमिकता आफ्नो क्षेत्र नै हुने भएपनि कतिपय कामहरू गर्न नसकिने रहेछ । त्यसैले सामान्य र आवश्यक एजेन्डाहरू उठाएर चुनावमा जानेछु,’ उनले भनिन् ।
काठमाडौँ क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् ।
‘म स्थानीयबासी हुँ । मेरो श्रीमानले धेरै काम गर्नुभयो र केही काम अधुरा छन् । त्यो पूरा गर्न म सँग स्पष्ट भिजन छ । उहाँ (नवीन्द्रराज जोशी)ले अचानक छाडेर जानुभयो । अघि सारेका धेरै योजनाहरू अधुरै छन् । त्यसको साक्षी म आफैँ छु । ति सबै कामहरु पूरा गर्न सक्छुजस्तो लाग्छ,’ उनले दृढता व्यक्त गरिन् ।
उनले काठमाडौँ उपत्यकाको संस्कार र संस्कृतिलाई जोगाउनका लागि पनि आफूले अभियान चलाउने बताइन् ।