arrow

उम्मेदवारको प्रचार गरेपछि तीन कर्मचारीलाई स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
election-2082.jpg

काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने सङ्खुवासभाका तीनजना सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ।

सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत दलका उम्मेदवारको प्रचार गर्दै भोट मागेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

कार्यालयले ती कर्मचारीहरूको नाम भने गोप्य राखेको छ। उनीहरूबाट लिखित स्पष्टीकरण लिइएको र यस्ता गतिविधि पुनः दोहोरिएमा कडा कारबाही गरिने न्यौपानेले बताए। त्यस्ता कर्मचारीलाई निर्वाचनको कुनै पनि जिम्मेवारीमा नखटाउने निर्णय समेत भएको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा १ लाख १९ हजार ६३० मतदाता रहेका छन्।

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र तय गरिएको छ। यसपटकको चुनावी मैदानमा तीन महिलासहित १६ जना उम्मेदवार छन्। जिल्ला सुरक्षा समितिले यहाँका ८ वटा मतदानस्थललाई अति संवेदनशील, ८२ वटालाई संवेदनशील र १९ वटालाई सामान्य सूचीमा राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ