काठमाडौं । स्याङ्जाका ५६ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा परेका छन्। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यो वर्गीकरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार जिल्लाका कुल १९९ मतदानस्थलमध्ये ७२ वटा सामान्य, ७१ वटा संवेदनशील र ५६ वटा अति संवेदनशील सूचीमा रहेका छन्। सडक पहुँच, सुरक्षा अवस्था, भौगोलिक विकटता, सञ्चार सुविधा र विगतका निर्वाचनको इतिहासलाई आधार मानेर यो सूची तयार पारिएको अर्यालले जानकारी दिए। "मतदानस्थलको संवेदनशीलता अनुसार नै विशेष सुरक्षा योजना बनाइनेछ," उनले भने।
निर्वाचनलाई भयरहित र मर्यादित बनाउन जिल्लाका सबै राजनीतिक दल र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको उनले बताए। अहिले निर्वाचन अधिकृतको टोलीले विभिन्न मतदानस्थलको स्थलगत अवलोकन र अध्ययन गरिरहेको छ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा यसपटक ३२२ मतदान केन्द्र रहेका छन्, जुन अघिल्लो निर्वाचनको तुलनामा दुईवटा बढी हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार आगामी निर्वाचनमा २ लाख ४८ हजार ८१६ जनाले मतदान गर्न पाउनेछन्। स्याङ्जामा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या ३ हजार ८८७ ले बढी रहेको छ। निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेका छन्।