खगेन्द्र, सीके र निशासँग मागियो स्पष्टीकरण, तीन सरकारी निकायले पनि गरे आचारसंहिता उल्लङ्घन
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
702
Shares
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भनी निर्वाचन आयोगले तीन उम्मेदवार र तीन सरकारी निकायलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले बाँके निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार खगेन्द्र सुनार, सप्तरी निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत (सीके राउत) र काठमाडौँ निर्वाचन क्षेत्र नं ५ की उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।
सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
यस्तै राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिह्न र झन्डाको तोरण बनाई झुन्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको हो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ की उम्मेदवार अधिकारीलाई अष्टे«लियामा रहेका नेपालीलाई स्वयम्सेवक आवेदन फारम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने व्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठगाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नका साथै संलग्नलाई कानूनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो ।
यसैगरी देउती आधारभूत विद्यालय भैरवी–३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो ।
यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।