arrow

पशुपालनतर्फ आकर्षित बेलबासका किसान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
cow-milk-farmer.jpg
फाइल तस्बिर

तनहुँ । मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका-१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।

बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५  किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् ।

अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेमा वृद्धि हुँदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए । उनले भने, ‘थोरैमा मासिक १५ हजारदेखि दुई लाख बढीसम्म कमाउने दूध व्यवसायी यहाँ रहेका छन् ।’

यसअघि दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएकोमा अहिले एक हजार सात लिटर दूध सङ्कलन भइरहेको छ ।

दूधबाट राम्रै आम्दानी हुने देखेपछि किसान उत्साहित भएर गाई थप्दै जाँदा बेमौसमी सिजनमा दूधको परिणाम बढेको उनले बताए ।

उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखराको सुजल डेरी प्रालिमा बिक्री गर्ने गरिएको छ ।

उत्पादन गरिएको दूध बिक्रीका लागि बजारको कुनै समस्या नभएपछि यहाँका किसान पशुपालनतर्फ आकर्षित भएर लागेका हुन् ।

दमौली बजारमा सञ्चालनमा ल्याइएको दुई पसलबाट दैनिक सात सय लिटर दूध खपत हुने गरेको छ भने एक दिन बिराएर सुजल डेरीले दुई हजार लिटर दूध पोखरा लैजाने गरेको छ ।

यहाँका व्यासायिक पशुपालनले परिवारको मात्रै नभई सिङ्गो समाजको मुहारमा परिवर्तन ल्याएको संस्थाका सचिव मेघनाथ आचार्यले  बताए ।

उनले भने, ‘आफूले दूध उत्पादन गर्नुका साथै पशुपालन गर्न चाहने किसानका लागि थप उत्प्रेरण जगाउने कार्य गरिएको आभास गर्न थालिएको छ ।’

यस क्षेत्रका पशुपालन कृषकले अन्य व्यक्तिका लागि परिश्रम गर्न सकिए केही हुँदोरहेछ भन्ने गतिलो सन्देश दिएका छन् ।

दूध बिक्रीबाट आएको पैसाले लेनदेन व्यवहारका साथै दैनिक घर खर्च चलाउनमा सजिलो भएको पशुपालक किसान बताउँछन् ।

कृषकको खरिद मूल्यअनुरुप अहिले दैनिक एक लाख ३४ हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट प्रति लिटर तीन र व्यास नगरपालिकाबाट दुई अनुदान सहकारीमार्फत पाउने गरेका छन् ।

व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुन सक्ने संस्थाका अध्यक्ष केशवबहादुर थापाले बताए ।

गाउँमै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले दैनिक बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न सहज भएको छ ।

नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्न उत्पादनका आधारमा अनुदान प्रदान गर्दै आएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ