arrow

कमजाेर छैनन् महिला उम्मेद्वार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
election-falgun2102082-1.jpg

बाँके। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेबाट चार जना महिला उम्मेद्वारले प्रतिस्पर्धा गर्दै छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नम्बर ३ बाट विद्या शर्मा, भूमी महत्तरा र भगवती शाहले उम्मेदवारी दिएका छन् ।

केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टीबाट, महतरा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन् ।

पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्छन् भन्ने पितृसत्तात्मक सोचलाई चुनौती दिँदै उम्मेद्वारको लामो सूचीमा यी चार महिलाको नाम केवल सङ्ख्या मात्र नभई यो परिवर्तनको एउटा बलियो साहस भएको अधिकारकर्मी भोला महत बताउँछन् ।

महिलालाई समानुपातिक सूचीमा उम्मेद्वार बनाउने राजनीतिक दलहरूको परम्परालाई चिर्दै धेरै पुरुष उम्मेद्वारकाबिच प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेद्वारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएको उनको बुझाइ छ ।

राप्ती सोनारी-९ ढकेरी निवासी कृष्णा केसी यसअघि लुम्बिनी प्रदेशसभा सदस्यको रूपमा सफल कार्यकाल बिताइसकेकी छन् ।

विसं २०७४ र विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएकी केसीले यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशसभाबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएकी हुन् ।

“प्रदेशमा बसेर धेरै काम गरियो, अब सङ्घीय संसद्मा पुगेर जनताका मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउने मेरो लक्ष्य छ”, उनले भनिन्, “शिक्षा, स्वास्थ्य र सामाजिक न्याय मेरो मुख्य एजेन्डा हुन् ।”

केसीले नेकपा (एमाले) का सूर्य ढकाल, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाली कम्युनिस्ट पार्टीका नरेन्द्र पाण्डेलगायत पुरुष उम्मेद्वारसँग प्रतिस्पर्धा गर्दै छिन् ।

नेपालगन्ज-१६ जैसपुर निवासी विद्या शर्मा स्थानीयस्तरमा सामाजिक कार्यमा निकै सक्रिय नाम हो । आम जनता पार्टीबाट उम्मेद्वारी दिएकी शर्माले जनताको दैनिक समस्या र स्थानीय मुद्दालाई संसद्सम्म पुर्‍याउने अठोट लिएकी छन् । उनले भुईँ तहका समस्या समाधानका लागि राजनीतिलाई माध्यम बनाउन चाहेको बताइन् ।

खजुरा गाउँपालिका-३ सिर्जना टोलकी भूमि महतरा नेपाल मजदुर किसान पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् ।

तल्लो तहका मजदुर र उत्पीडित समुदायको उत्थान नै आफ्नो राजनीतिको केन्द्रविन्दु भएको उनले बताइन् । सामाजिक विभेद र उत्पीडन विरुद्धको लडाइँलाई चुनावी मुद्दा बनाएको उनको दाबी छ ।

बैजनाथ गाउँपालिका-४ बानियाभार निवासी भगवती शाहले कुनै दलको ओत नलागी स्वतन्त्र रूपमा उम्मेद्वारी दिएकी छन् ।

समाजको स्तर उकास्न र वास्तविक जनसरोकारका विषयमा काम गर्न दलभन्दा माथि उठेर आफू मैदानमा आएको उनको दाबी छ ।

बाँके क्षेत्र नं. ३ मा महिला उम्मेदवारहरूले नेकपा (एमाले) का सुमन मल्ल, नेपाली कांग्रेसका अमरसिंह पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाली कम्युनिस्ट पार्टीका दीपक जिएमलगायतका पुरुष उम्मेद्वारसँग प्रतिस्पर्धा गर्दै छन् ।

बाँकेको तीन ओटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेद्वारी दिएकोमा क्षेत्र नम्बर २ मा उम्मेद्वार बनेका सरस्वतीप्रसाद बर्मा र विजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ मा प्रदीप पौडेल र दीपकबहादुर शाही गरी चार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

तीनवटै क्षेत्रमा उम्मेद्वार फिर्ता भएसँगै क्षेत्र नम्बर १ मा १४ जना र क्षेत्र नम्बर २ मा २० जनाको उम्मेद्वारी कायम भएको छ भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेद्वार गरी जिल्लामा ५६ जना उम्मेद्वार बनेका छन् ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार, बाँके निर्वाचन क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गत सबै ३० वडा समावेश छन् ।

यस क्षेत्रमा कूल एक लाख २४ हजार सात सय २७ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ मा ४८ ओटा मतदानस्थलसहित एक सय ४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका सबै छ गरी २७ वडा रहेका क्षेत्र नं. २ मा ५७ हजार एकसय १७ जना पुरुष, ५१ हजार एक सय ६७ जना महिला र छ जना अन्यसहित कूल एक लाख आठ हजार दुई सय ९० मतदाता रहेका छन् ।

मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ ओटा मतदानस्थलसहित एक सय २४ ओटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै छ, खजुरा गाउँपालिका सबै आठ र बैजनाथ गाउँपालिकाका सबै आठ गरी २४ वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ मा ५८ हजार छ सय ६४ जना पुरुष र ५८ हजार छ सय ८९ जना महिला गरी कूल एक लाख १७ हजार तीन सय ५४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शाहीले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ