arrow

ट्रम्पको धम्कीपछि क्युबाको समर्थनमा उत्रियो चीन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
cuba-2019.jpg

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले क्युवामाथि नाकाबन्दी र सैन्य हस्तक्षेपको धम्की बढाउँदै लगेपछि चीनले क्युबाको पक्षमा उभिने स्पष्ट पारेको छ। मङ्गलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले क्युबालाई 'सकेसम्म धेरै सहयोग र समर्थन' प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई 'पतनका लागि तयार हुन' वा भेनेजुएलाजस्तै मूल्य चुकाउन चेतावनी दिएपछि यस क्षेत्रमा तनाव चरम सीमामा पुगेको छ। 

जनवरी ३ मा भेनेजुएलामा अमेरिकी बम आक्रमणमा निकोलस मदुरो पक्राउ परेका थिए भने दर्जनौँ मानिसको मृत्यु भएको थियो। अहिले वासिङ्टनले क्युवामा हुने तेल आयात रोक्न नौसैनिक नाकाबन्दी गर्ने विकल्पमा समेत विचार गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका छन्।

चिनियाँ प्रवक्ता गुओले अमेरिकी कदमप्रति गहिरो चिन्ता र विरोध जनाउँदै क्षेत्रीय शान्ति खल्बल्याउने काम तत्काल रोक्न र दशकौँदेखिको आर्थिक नाकाबन्दी हटाउन आह्वान गरे। 

यता क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले पनि सम्भावित अमेरिकी आक्रमणको प्रतिरोधका लागि सैन्य अभ्यासको निरीक्षण गर्दै आफ्नो देश रक्षाका लागि तयार रहेको बताएका छन्। चीन र क्युबा लामो समयदेखि समाजवादी साझेदार रहँदै आएका छन् र बेइजिङले वासिङ्टनको एकतर्फी प्रतिबन्धको लगातार विरोध गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ