ट्रम्पको धम्कीपछि क्युबा सतर्क, थाल्यो सैन्य तयारी
'आक्रमण रोक्न सैन्य तयारी नै एकमात्र विकल्प'
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
1.9k
Shares
काठमाडौँ । क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार आफ्नो देशमा भइरहेको सैन्य तयारी अभ्यासको निरीक्षण गर्दै यसलाई संयुक्त राज्य अमेरिकाबाट हुन सक्ने सम्भावित आक्रमणविरुद्धको बलियो 'प्रतिरोध' का रूपमा व्याख्या गरेका छन्।
यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई 'पतन हुन तयार' रहन चेतावनी दिँदै हवानालाई 'सम्झौता गर्न' वा भेनेजुएलाले जस्तै ठूलो मूल्य चुकाउन चेतावनी दिएका थिए। भेनेजुएलामा गत जनवरी ३ मा भएको अमेरिकी सैन्य हस्तक्षेपपछि त्यहाँका नेता निकोलस मदुरो सत्ताच्युत हुनुका साथै देशमा हिंसा र अस्थिरता फैलिएको छ। क्युबाले आफ्नो प्रमुख सहयोगी राष्ट्र र आर्थिक स्रोत (तेल) गुमाउने जोखिम बढेपछि राष्ट्रपति डियाज–क्यानेलले सैन्य तयारीलाई तीव्रता दिएका हुन्।
सशस्त्र सेनाका मन्त्री जनरल अल्वारो लोपेज मिरासहित उच्च सैन्य अधिकारीहरूको उपस्थितिमा ट्याङ्क युनिटहरूको अभ्यास अवलोकन गर्दै डियाज–क्यानेलले टेलिभिजन सम्बोधनमार्फत कडा सन्देश दिए। उनले भने, “साम्राज्यवादले हाम्रो देशमा गर्ने आक्रमणको मूल्य कति महँगो हुन्छ भनेर देखाउनु नै आक्रमण रोक्ने सबैभन्दा राम्रो उपाय हो। वर्तमान परिस्थितिमा हाम्रो सैन्य तयारीको महत्व झन् बढेको छ।”
सरकारी विज्ञप्तिअनुसार डियाज–क्यानेलको नेतृत्वमा रहेको राष्ट्रिय रक्षा परिषद्ले देशको सुरक्षा र एकताको स्तर सुधार्ने विषयमा गहन छलफल गरेको छ। परिषद्ले सम्भावित युद्धको अवस्थामा सञ्चालन गरिने रणनीतिक योजनाहरू समेत अनुमोदन गरेको छ। यी सैन्य अभ्यासहरू 'सम्पूर्ण जनताको युद्ध' भन्ने रणनीतिक अवधारणाअन्तर्गत भइरहेका छन्, जसले द्वन्द्वको समयमा आम नागरिकको परिचालन र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्दछ।