जनकपुर । मधेस प्रदेशमा कुष्टरोगको सबैभन्दा बढी जोखिम रहेको तथ्यांक सार्वजनिक गरिएको छ ।
७३औँ कुष्टरोग दिवसको अवसरमा जनकपुरधाममा शनिबार स्वास्थ्य निर्देशनालय मधेस प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार कुष्टरोगीको संख्यामा मधेस प्रदेस पहिलो स्थानमा रहेको छ ।
उक्त तथ्यांक अनुसार कुल कुष्टरोगीको संख्यामध्ये झण्डै एकतिहाइ रोगीको संख्या मधेस प्रदेशमै रहेको छ ।
देशभर हाल दुई हजार चार सय नौ जना कुष्टरोगी रहेकामा मधेस प्रदेशमा मात्र आठ सय ५७ जना रहेको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका कुष्टरोग अधिकृत राजवीर यादवले मधेस प्रदेशमा कुष्टरोगीको संख्या अत्यधिक भए पनि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकार र स्थानीय सरकारबाट पर्याप्त लगानी नभएको बताए ।
उनले प्रदेश सरकारले कुष्टरोग नियन्त्रण गर्न शून्य बजेट छुट्याएको जानकारी दिए ।
यस आर्थिक वर्षमा मधेश प्रदेशमा ५८ जनामा मात्र नयाँ कुष्टरोग पुष्टि भएको छ ।
१४ वर्ष मुनिका कुष्टरोगी देशभर ९१ जना रहेकामा मधेस प्रदेशमा ४० जना छन् ।
यस्तै, देशभरका एक हजार १२ महिला कुष्टरोगीमध्ये तीन सय ७८ जना मधेस प्रदेशका रहेको तथ्यांकमा उल्लेख छ ।
एक लाख जनसंख्यामा पत्ता लाग्ने नयाँ कुष्टरोगीको दर देशभर ८.१६ रहेकामा मधेस प्रदेशमा १३.६७ रहेको छ ।
यस्तै, प्रति १० हजार जनसंख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका बिरामीको प्रकोप दर देशभर ०.८८ हुँदा मधेशमा १.२८ पुगेको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश साहले मधेस प्रदेशका एक सय ३६ पालिकामध्ये हालसम्म ४५ पालिका मात्र कुष्टरोगमुक्त घोषित भएको जानकारी दिए ।
पर्सा, सिरहा र जनकपुरधाम क्षेत्र अति उच्च कुष्टरोग जोखिम क्षेत्रका रूपमा रहेको उनले बताए ।
ई.स. २०१९ देखि हालसम्म २७ प्रतिशत कुष्टरोगी निको भए पनि कुष्टरोगका कारण हुने अपाङ्गता दर अझै उच्च रहेको प्रमुख साहले बताए ।
७३औँ कुष्टरोग दिवसको अवसरमा महोत्तरी, सिराहा, धनुषा र सर्लाहीसहित छ स्थानमा स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए ।
साहका अनुसार प्रदेश सरकार र स्थानीय सरकारले कुष्टरोग नियन्त्रणका लागि बजेट छुट्याउन आवश्यक रहेको छ ।
साथै सामाजिक स्तरमा पनि कुष्टरोगीहरूलाई हेप्ने र घृणाको भावनाले हेर्ने प्रवृतिलाई सुधार गर्न आवश्यक रहेको जनस्वास्थ्य प्रमुख साहको भनाई छ ।