सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीमा एक सय ३१ जना उम्मेद्वार कायम भएका छन् ।
चारवटै निर्वाचन क्षेत्रमा एक सय ३३ जनाको उम्मेद्वारी दर्ता भएकामा निर्वाचन आयोगले तोकेको समयसीमाभित्र दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि एक सय ३१ जना उम्मेदवार कायम भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार सर्लाही निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वार बनेका भरतकुमार थापाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
उनले लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भइ उम्मेद्वारी फिर्ता लिँदै पार्टीका आधिकारिक उम्मेद्वार प्रमोदकुमार साहलाई समर्थन जनाएका छन् ।
थापा बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख समेत हुन् । यस्तै, क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका महेश प्रसाद यादवले उम्मेद्वारी फिर्ता लिएका छन् ।
अन्तिम सूचीअनुसार सर्लाहीमा ६१ जना विभिन्न राजनीतिक दलका उम्मेद्वार रहेका छन् भने ७० जना स्वतन्त्र उम्मेद्वार छन् ।
कुल उम्मेद्वारमध्ये ६ जना महिला छन्। जिल्लामा अब क्षेत्र नं १ मा २८ जना, क्षेत्र नं २ मा ३१ जना, क्षेत्र नं ३ मा ३४ जना र क्षेत्र नं ४ मा सबैभन्दा धेरै ३८ जना उम्मेद्वार रहेका छन् ।
उम्मेद्वारको अन्तिम नामावली टुंगिएसँगै अब दल तथा स्वतन्त्र उम्मेद्वारका चुनाव चिन्हसहित मतपत्र छपाइका लागि निर्वाचन आयोगमा विवरण पठाइने मुख्य निर्वाचन अधिकृत थपलियाले जानकारी दिए ।