बागलुङमा निर्वाचन प्रहरीको संकट: तीन पटक म्याद थप्दा पनि कोटा अझै खाली
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
863
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्न मागअनुसार आवेदन नआएपछि संकट देखिएको छ। जिल्लाभरका लागि कुल १ हजार ४८७ जना सुरक्षाकर्मीको आवश्यकता भए पनि तीन पटकसम्म म्याद थप गर्दा समेत कोटा पूरा हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार नेपाल प्रहरीतर्फ १ हजार २९८ र सशस्त्र प्रहरीतर्फ १८९ जना माग गरिएकोमा हालसम्म जम्मा १ हजार ५१ जनाको मात्र आवेदन परेको छ। यसरी आवेदन दिनेहरूमा ८२३ जना पुरुष र २२८ जना महिला रहेका छन्, जसमा सशस्त्र प्रहरीतर्फ जम्मा ३ जनाको मात्र आवेदन परेको छ।
सुरुमा पुस २४ गतेदेखि माघ १ गतेसम्मका लागि दरखास्त आह्वान गरिएकोमा मागअनुसार संख्या नपुगेपछि पहिलो पटक माघ २ र ३ गतेका लागि म्याद थपिएको थियो। त्यसपछि पनि उल्लेख्य आवेदन नआएपछि अहिले तेस्रो पटक आगामी आइतबारसम्मका लागि समय बढाइएको छ। माग पूरा हुनका लागि अझै ४३६ जना उम्मेदवारको खाँचो रहेको छ।
इच्छुक आवेदकहरूलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालय बागलुङका साथै इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा जनशक्तिको अभाव देखिनुले चुनावी व्यवस्थापनमा चुनौती थपिएको छ।