सानी भेरी आयोजनाको प्रसारण लाइन र ग्रीड कनेक्सनको तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १० शनिबार
738
Shares
काठमाडौँ । सानी भेरी जलविद्युत् आयोजनासम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ ।
आयोजनाले आवश्यक अनुमति, सहमति तथा पूर्वाधार विकासका कामहरू चरणबद्ध रूपमा अघि बढाइरहेको विद्युत विकास विभागले जनाएको हो ।
विभागका अनुसार ४४.५२ मेगावाट क्षमताको आयोजनाको प्रसारण लाइन, रुट अलाइनमेन्ट, ग्रीड कनेक्शन सम्झौता लगायतका विषयमा आवश्यक तयारी भइरहेको छ ।
विद्युत् उत्पादनपछि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोड्नका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ ।
आयोजनाले वातावरणीय तथा सामाजिक पक्षलाई ध्यानमा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
आयोजनाका प्रवर्द्धकले स्थानीय तह, सरोकारवाला निकाय र प्रभावित क्षेत्रका बासिन्दासँग छलफल तथा समन्वयलाई प्राथमिकता दिएको बताएका छन् ।
निर्माण कार्यका क्रममा आवश्यक मापदण्ड पालना गर्दै समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सानी भेरी जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुग्ने र स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
साथै, ऊर्जा आत्मनिर्भरतातर्फ मुलुकलाई अघि बढाउन यस आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
आयोजनाले गत भदौ दोस्रो साता सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा रहेका बैंकहरूको कन्सोर्टियमबाट सात अर्ब २० करोड रुपैयाँ बराबरको ऋण लगानी सुनिश्चित गरेको थियो ।
सम्झौताअनुसार कुल लगानीको ७५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउनेछन् भने बाँकी २५ प्रतिशत रकम आयोजनाका प्रवद्र्धकले व्यहोर्नेछन् ।
लगानी विवरणअनुसार सिटिजन्स बैंकले दुई अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले एक अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकले एक अर्ब रुपैयाँ र सनिमा बैंकले एक अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् ।
आयोजनाका प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्टले २ अर्ब ४० करोड रुपैयाँ लगानी गर्नेछ ।
आयोजनाबाट सुख्खा मौसममा ९८.७२७ गिगावाट-घण्टा र वर्षा मौसममा १८२.३८६ गिगावाट-घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
यसरी वार्षिक रूपमा कुल २८१.११३ गिगावाट-घण्टा विद्युत् राष्ट्रिय ग्रीडमा योगदान पुग्नेछ ।
सानी भेरी जलविद्युत् आयोजनाले रुकुम पूर्व जिल्लाका पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाबाट बग्ने सानी भेरी नदीको पानी उपयोग गर्नेछ ।