काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दोलखाका उम्मेदवार जगदीश खरेलसँग स्पष्टीकरण माग गरेको छ। यही माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा तोकिएको मापदण्डभन्दा ठूलो जुलुस र दलको झण्डा प्रयोग गरेको देखिएपछि आयोगले उनलाई तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार खरेलले निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा १ मा भएको व्यवस्था विपरीत कार्य गरेको प्रारम्भिक देखिएको छ। आचारसंहिताले मनोनयनका क्रममा सहभागी हुने सङ्ख्या र प्रयोग गरिने सामग्रीबारे स्पष्ट सीमा तोकेको भए पनि त्यसको पालना नगरेको भन्दै आयोगले "उक्त कार्य किन भएको हो र तपाईंलाई कारबाही किन नगर्ने?" भन्ने आशयको पत्र काटेको हो। खरेलले तोकिएको समयभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत आयोगमा लिखित स्पष्टीकरण बुझाउनुपर्नेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका खरेलमाथि आचारसंहिताको यो पहिलो गम्भीर प्रश्न हो। आयोगले यसअघि नै सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताको कडाइका साथ पालना गर्न चेतावनी दिइसकेको छ। यदि स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा आचारसंहिता उल्लङ्घन पुष्टि भएमा आयोगले जरिवानादेखि उम्मेदवारी खारेजीसम्मको कानुनी कारबाही अगाडि बढाउन सक्ने संवैधानिक प्रावधान रहेको छ।