arrow

प्रतिनिधि सभा निर्वाचन

आजै वितरण गरिँदै चुनाव चिह्न

उम्मेदवारको अन्तिम नामावली आजै सार्वजनिक हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगले आज माघ ९ गते दिउँसो १:०० बजेसम्मको समय सीमा तोकेको छ। 

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:०० बजेदेखि सुरु भएको उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएलगत्तै दिउँसो १:०० देखि ३:०० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। यसैगरी आजै अपराह्न ४:०० देखि साँझ ७:०० बजेसम्ममा चुनावी मैदानमा कायम रहेका उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी आयोगले गरेको छ।

यसअघि माघ ७ गते उम्मेदवारहरू विरुद्ध दाबी विरोध र उजुरी दिने समय प्रदान गरिएको थियो भने बिहीबार बेलुकासम्म ती मनोनयनपत्र र उजुरीहरूमाथि जाँचबुझ गरी निर्णय सार्वजनिक गरिएको थियो। 

देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ, जसमा तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला र अन्य एक जना रहेका छन्। यही माघ ६ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन कार्य सम्पन्न भएको थियो।

प्रतिनिधिसभाको यो निर्वाचनमार्फत कुल २७५ सदस्यहरू चयन हुनेछन्, जसमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ। आज निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारहरू औपचारिक रूपमा आफ्नो चुनावी एजेन्डा र प्रचारप्रसारसहित मतदाताको घरदैलोमा पुग्नेछन्। आयोगले निर्वाचन चिह्न प्रदान गरेलगत्तै चुनावी आचारसंहिताको पूर्ण पालना गर्दै प्रचारप्रसार गर्न सकिने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ