एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
1.1k
Shares
काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य प्रतितोला रु ५० ले घटेको हो।
आजका लागि एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु पाँच हजार ८७० कायम गरिएको छ। यसअघि बुधबार सुन प्रतितोला रु दुई लाख ९५ हजार १०० र चाँदी रु पाँच हजार ९२० मा कारोबार भएको थियो।
पछिल्लो साताको बजारलाई नियाल्दा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। मङ्गलबार सुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र चाँदी रु पाँच हजार ८८० मा कारोबार भएको थियो भने सोमबार सुन रु दुई लाख ८२ हजार र चाँदी रु पाँच हजार ८१० मा किनबेच भएको थियो।
गत आइतबार भने सुनको मूल्य रु दुई लाख ७८ हजार ८०० र चाँदीको मूल्य रु पाँच हजार ६२५ रहेको थियो। यसरी हेर्दा साताको सुरुदेखि निरन्तर उकालो लागेको सुनको भाउमा आज केही ब्रेक लागेको देखिन्छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ६९५ अमेरिकी डलर र सेतो धातु चाँदी प्रतिऔँस ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। नेपालमा सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र अमेरिकी डलरको विनिमय दरलाई आधार मानी दैनिक रूपमा यहाँको बजार मूल्य निर्धारण गर्ने गर्दछ।