काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै नवनियुक्त सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ, सहयोग र आपसी समन्वयमा मन्त्रालयका कामलाई नतिजामुखी बनाउने अठोट व्यक्त गरेकी छन्।
बुधबार मन्त्रालयमा पदवहाली गरेपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सरकारी सेवा प्रवाहलाई थप नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन पूर्ण जिम्मेवारीका साथ कार्य सम्पादन गर्न निर्देशन दिएकी हुन्।
यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको रूपमा कार्यरत बस्नेतले सञ्चार मन्त्रालय आफ्नो लागि कार्यक्षेत्रका हिसाबले नयाँ भए पनि प्रशासनिक अनुभवलाई उपयोग गर्दै अघि बढ्ने बताएकी छन्। उनले भनिन्, “यो मन्त्रालय मेरा लागि नितान्त नयाँ हो, यद्यपि मैले प्रशासनिक क्षेत्रमा धेरै अनुभव हासिल गरेकी छु। मन्त्रालयले राखेका लक्ष्यहरूमा परिणाममुखी नतिजा दिन हामी सबै उत्तिकै जिम्मेवार भएर लाग्नुपर्छ।”
उनको पदवहालीसँगै सञ्चार मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सूचना व्यवस्थापन र प्रविधि परिचालनका कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ। मन्त्रालयका कर्मचारीहरूले नयाँ सचिवलाई स्वागत गर्दै मन्त्रालयका आगामी योजना र चुनौतीबारे जानकारी गराएका थिए।