arrow

सामाजिक सुरक्षामा देशभरका पत्रकार समेट्ने मन्त्री खरेलको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १९ शनिबार
jagadish-kharel-16-09.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरूको भविष्य सुरक्षित गर्न उनीहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणका क्रममा मन्त्री खरेलले सरकारले हाल सरकारी सञ्चार माध्यमबाट यस कार्यको थालनी गरिसकेको जानकारी दिए।

महासङ्घको चितवन शाखा अन्य जिल्लाको तुलनामा व्यवस्थित रहेको प्रशंसा गर्दै मन्त्री खरेलले पत्रकारका समस्या समाधानका लागि वर्तमान सरकारले ठोस आधारशिला तयार गरिरहेको बताए। उनले लोक कल्याणकारी विज्ञापनलाई न्यायोचित र सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्‍याउनु आवश्यक रहेकोमा जोड दिए। निरीक्षणका क्रममा महासङ्घका जिल्ला अध्यक्ष वसन्त पराजुलीले मन्त्री खरेललाई स्थानीय पत्रकारिताका चुनौती र समस्याबारे जानकारी गराएका थिए।

यसै क्रममा मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजनका समाचारदाता अनिल ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिए। गत असोजमा मुग्लिन–नारायणगढ सडकखण्डमा प्रत्यक्ष प्रसारणका लागि जाँदा दुर्घटनामा परेका ढकालको उपचार भइरहेको छ। मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी ढकालको उपचार र रोजगारीको सुनिश्चितताका लागि आवश्यक सहजीकरण गर्न निर्देशन समेत दिए। घाइते ढकालले आफ्नो रोजगारीको स्थायित्वका लागि आग्रह गरेपछि मन्त्रीले टेलिभिजनका तर्फबाट पूर्ण सहयोग हुने आश्वासन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ