arrow

उम्मेदवारको योग्यतामाथि प्रश्न उठाउने दिन: आज दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
election-falgun2102082-1.jpg

काठमाडौँ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरू विरुद्ध आज बुधबार उजुरी दिने समय तोकिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार हिजो मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूको योग्यता र वैधानिकतामाथि प्रश्न उठाउन आज बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्मको अवधि निर्धारण गरिएको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार कुनै उम्मेदवारको योग्यता पुगेको छैन भन्ने लागेमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार वा निजको प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणसहित उजुरी दिन सक्नेछन्। 

उजुरी प्राप्त भएपछि निर्वाचन अधिकृतले त्यसलाई दर्ता किताबमा चढाएर उजुरीकर्तालाई भरपाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ। उजुरी दिने म्याद सकिएपछि प्राप्त उजुरीहरूको विवरण कार्यालयमा सार्वजनिक गरिनेछ र सम्बन्धित उम्मेदवारले तोकिएको समयभित्र प्रमाणसहित उपस्थित भएर आफ्नो पक्ष स्पष्ट पार्नुपर्नेछ।

आयोगको पछिल्लो तथ्याङ्क अनुसार देशभरबाट कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा ३ हजार ८९ पुरुष, ३९६ महिला र एक जना तेस्रोलिङ्गी हुनुहुन्छ। उजुरी उपर आज दिउँसो ३:०० बजेदेखि भोलि माघ ८ गते बेलुका ५:०० बजेसम्म जाँचबुझ र निर्णय गरिनेछ। 

यसैगरी माघ ८ गते बेलुकी नै उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने माघ ९ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ