arrow

पत्रकारिता छाडेर राजनीतिमा: ऋषि धमलाले गराए उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
dhamalas.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर–४ मा आज निकै उत्साहका साथ मनोनयन दर्ता भएको छ। यस क्षेत्रको निर्वाचनलाई थप चर्चामा ल्याउँदै पत्रकार ऋषि धमलाले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार चन्द्रपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा ठुलो सङ्ख्यामा रहेका नेता, कार्यकर्ता र समर्थकहरूको जुलुससहित पुगेर धमलाले मनोनयन पत्र बुझाएका हुन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै धमलाले आफू यस क्षेत्रको समस्या र वस्तुस्थितिबारे पूर्ण जानकार रहेको र रौतहट-४ को समग्र विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन्।

पत्रकार धमलाको चुनावी मैदानमा प्रवेशसँगै यस क्षेत्रको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। सोही निर्वाचन क्षेत्रमा अन्य प्रमुख राजनीतिक दलहरूले पनि आफ्ना प्रभावशाली उम्मेदवारहरूलाई उतारेका छन्। नेपाली कांग्रेसका तर्फबाट पूर्व प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाले आफ्नो पुरानो विरासत जोगाउन उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, नेकपा (एमाले) का तर्फबाट रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गणेश पौडेल र नेपाली कम्युनिष्ट पार्टीबाट रामकुमार भट्टराईले पनि मनोनयन पत्र दर्ता गराएका छन्।

सबै उम्मेदवारहरू आ–आफ्ना समर्थक र दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुग्दा चन्द्रपुर क्षेत्र आज दिनभर चुनावी रौनक र उत्साहले भरिएको थियो। निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ताको प्रक्रिया सकिएसँगै अब सबै उम्मेदवारहरू चुनावी प्रचारप्रसार र घरदैलो अभियानमा केन्द्रित हुने भएका छन्।

मिडियामा चर्चित अनुहार, अनुभवी राजनीतिज्ञ र नयाँ दलका उम्मेदवारहरू बीचको यो बहुकोणीय भिडन्तले रौतहट-४ लाई यसपटक देशकै ध्यान तान्ने निर्वाचन क्षेत्र बनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ