परासी । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष तथा पूर्वमन्त्री ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
राप्रपाले देशभरका १६५ मध्ये १६० भन्दा बढी क्षेत्रमा उम्मेदवार टुंगो लगाएकोमा प्रधानलाई पुरानै क्षेत्रबाटै टिकट दिएको हो । ०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका प्रधानले यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
यो क्षेत्रमा प्रधानको मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग हुने अनुमान गरिएको छ ।
यसअघि प्रधानले कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए । राप्रपाले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको एजेण्डालाई प्रमुख रूपमा अघि सारेको छ ।
प्रधानको उम्मेदवारीले लुम्बिनी प्रदेशको यो क्षेत्रमा राजनीतिक सरगर्मी बढाएको छ ।
पूर्वप्रहरी महानिरीक्षक प्रधान प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा कानून मन्त्री बनेका थिए ।