काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यले आकाश छुँदै नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनदेखि निरन्तर उकालो लागेको पहेँलो धातुको मूल्य आज प्रतितोला रु दुई लाख ८४ हजार ७०० पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि भई प्रतितोला रु पाँच हजार ८८० कायम भएको छ। गत आइतबार सुन प्रतितोला रु दुई लाख ७८ हजार ८०० र चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो। सोमबारको तुलनामा आज सुनमा प्रतितोला रु दुई हजार ७०० र चाँदीमा रु ७० को वृद्धि देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उछाल आएको छ। आज विश्व बजारमा सुन प्रतिऔँस चार हजार ६९० र चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आर्थिक विश्लेषकहरूका अनुसार विश्वभर बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीति र अर्थतन्त्रमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानी (Safe Haven) का रूपमा रोज्दा मूल्यमा भारी वृद्धि भएको हो।