प्रतिनिधि सभा निर्वाचन २०८२: देशभर उत्साहका साथ मनोनयन दर्ता शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
906
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज (माघ ६ गते) देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया उत्साहपूर्वक शुरु भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्षतर्फको मनोनयनका लागि बिहान १०:०० देखि बेलुकी ५:०० बजेसम्मको समय तोकिएको छ। तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लाम बस्ने उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराउन पाउनेछन्।
आयोगले उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रसहित १३ प्रकारका विभिन्न कागजातहरू अनिवार्य गरेको छ। मनोनयन दर्ताको प्रक्रिया सकिएलगत्तै आजै बेलुकी ५:०० देखि ७:०० बजेसम्म उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिने कार्यक्रम छ।
यो निर्वाचन गत भदौमा भएको 'जेन-जी' आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनपछि हुन लागेको हो, जसका कारण यसलाई विशेष चासोका साथ हेरिएको छ।
निर्वाचन कार्यतालिका अनुसार भोलि (माघ ७ गते) उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने माघ ८ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ। माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।
निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र मर्यादित रूपमा मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आह्वान गरेको छ।