आज प्रतिनिधि सभा उम्मेदवारको मनोनयन, दलहरूलाई तोकियो समय
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
808
Shares
काठमाडौँ । आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा आज उम्मेदवार मनोनयनको प्रक्रिया उत्साहजनक रूपमा सुरु भएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आज माघ ६ गते मंगलबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता स्थलमा हुन सक्ने भीडभाड र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रमुख राजनीतिक दलहरूका लागि छुट्टाछुट्टै समय तालिका समेत तय गरेको छ।
निर्धारित समय तालिका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अपराह्न १ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले अपराह्न २ बजे, नेकपा (एमाले) ले अपराह्न २ः३० बजे, नेपाल कम्युनिस्ट पार्टीले अपराह्न ३ बजे र नेपाली काँग्रेसले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
मनोनयन दर्ताका लागि आवश्यक पर्ने कागजात, धरौटी र अन्य प्रक्रियाका बारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधिहरूलाई पहिले नै जानकारी गराइसकेको छ। उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रतिलिपि, मतदाता नामावलीमा नाम रहेको प्रमाण र सम्पत्ति विवरण जस्ता विवरणहरू अनिवार्य गरिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल र सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गरेका छन्। दलहरूले निर्वाचन आयोगबाट जारी गरिएका निर्देशन, आचारसंहिता र प्रचलित ऐन-कानुनको पूर्ण पालना गर्ने साझा अठोट समेत जनाएका छन्। आजको मनोनयन दर्तासँगै मुलुकभर चुनावी सरगर्मी ह्वात्तै बढेको छ भने सुरक्षा व्यवस्थालाई पनि अत्यन्तै सुदृढ बनाइएको छ।